डडेल्धुरामा भरुवा बन्दुकको पासोमा परेर एकजनाको मृत्यु
डडेल्धुराः डडेल्धुरामा भरुवा बन्दुकको पासोमा परेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–४ का ४५ वर्षीय दलबहादुर पान रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
गएराति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि थापेको पासोमा परेर पानको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए।
उनले दलबहादुरको डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको बताए। ‘भरुवा बन्दुकको पासोमा परेर उहाँको मृत्यु भएको देखिन्छ। पासो कसले थापेको हो भन्ने खुलेको छैन,’ डीएसपी पालले भने,‘यसबारेमा हामी अनुसन्धान गर्दैछौँ।’
उनको शव अस्पतालमा राखिएको छ। घटनामा संलग्न रहेको हुनसक्ने भन्दै ४ जनालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको डीएसपी पालले बताए। नियन्त्रणमा लिइएकाहरूको परिचय भने खुलाइएको छैन।