Radio Unity 92.2MHz

कैलपाल मावि पत्रम : कार्यालय सहयोगीमा भागबन्डा नमिल्दा पद पूर्ति हुन सकेन्!

डडेल्धुरा: भागेश्वर गाउँपालिका–१ स्थित पत्रममा रहेको कैलपाल माध्यमिक विद्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा भागबन्डा नमिल्दा चार महिनासम्म रिक्त रहेको पदले पूर्णता पाउँन सकेको छैन्।

विद्यालयका प्रधानाध्यापक टेक ठकुराठी र विद्यालय व्यवस्थापन समिती अध्यक्ष कालु बोहराले आफू नजिकको मान्छेलाई कार्यालय सहयोगी बनाउन खोजेको र दुबै जनाबीच कुरा नमिलेपछि कार्यालय सहयोगी पद पूर्ति हुन नसकेको स्थानीयको आरोप छ।

विद्यालयमा रिक्त रहेको कार्यालय सहयोगी पदमा आठ जनाले आवेदन भरेको विद्यालयले जनाएको छ। रिक्त रहेको पद पूर्तिको लागि गत फागुन ७ गते बगरकोटमा परिक्षा सञ्चालन हुने भनि विद्यालयले फागुन २ गते सूचना प्रकाशन गरेको थियो।

तर, फेरि विद्यालयले फागुन ५ गते बगरकोटमा हुने भनिएको परिक्षा स्थगित गरिएको र फागुन ७ गते अशिग्राम मावि बयलपाटामा हुने भनि सूचना प्रकाशन गरेको थियो।

तर, परिक्षा अझै हुन सकेको छैन्।

प्रधानाध्यापक ठकुराठी र अध्यक्ष बोहराले आफ्नो मान्छे बनाउन बिभिन्न हत्कण्डा अपनाएको भन्दै परिक्षामा सहभागी हुने विद्यार्थीले समेत आपत्ति जनाएको छन्।

प्रअ र अध्यक्षले आफू निकट ब्यक्तिलाई कार्यालय सहयोगी बनाउन थालेकोले निश्पक्ष परिक्षा गरिदिन माग राख्दै विद्यार्थीले भागेश्वर गाउँपालिकालाई समेत पत्र पठाएका छन्।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष कालु बोहराले विना कारण आफ्नो मान्छे बनाउन खोजेको आरोप लगाएकोले आफूले परिक्षा सञ्चालन समितीबाट आफ्नो नाम हटाएर अर्को व्यक्तिलाई जिम्मेवारी दिएको बताए।

‘मेरो कोही मान्छे छैन्। अरू नै यसमा आफ्नो मान्छे राख्न सक्रिय छन्। मलाई अध्यक्षबाट हटाउन केही व्यक्तिले खेल खेलिरहेका छन्,’ उनले भने।

आफू निकट ब्यक्ति राख्न खोजेको भन्ने आरोप निराधार भएको प्रअ ठकुराठी बताउँछन्। उनी भन्छन्, ‘बगरकोटमा परिक्षा हुने निश्चित भएपनि भागेश्वर गाउँपालिकाको शिक्षा शाखामा फोन गर्दा अशिग्राम माविमा कार्यक्रम रहेको र बगरकोटमा भ्याउन नसक्ने भन्दै उतै कार्यक्रम राख्न निर्देशन आएपछि परिक्षा सारिएको हो।’

‘परिक्षाका लागि विद्यालय व्यवस्थापन समितिले तोकेको दुई जना विज्ञ छान्ने कुरा थियो। सोही अनुसार दुई जना विज्ञ टोली जिल्लाबाट मगायौं,’ उनले भने, ‘पालिकाबाट प्रतिनिधि आइसकेपछि हामीलाई नसोधेर विज्ञ राख्नु भयो भन्नु भयो। त्यसैमा विवाद भयो। र, परिक्षा स्थगित हुन पुग्यो।’

उनले विद्यालय व्यवस्थापन समितिको बैठक बसेर चाँडै परिक्षा हुने समेत बताए।

युनिटी खबरसँग कुरा गर्दै भागेश्वर गाउँपालिकाका प्राविधिक सहायक मिनबहादुर खड्काले परिक्षा निश्पक्ष हुनु पर्ने अडान राखेको बताए।

‘हामीलाई सोधेर विज्ञ मान्छे छनोट गर्नूपर्छ। हामीले विज्ञको नाम दिने हो अनि उनीहरूले छनोट गर्नूपर्छ,’ उनले भने, ‘तर, उनीहरूले आफै विज्ञ छनोट गरेर ल्याउनु भएछ। आवेदकले पनि निश्पक्ष परिक्षा हुनु पर्ने माग राखेका छन्।’

परिक्षा निश्पक्ष हुनु पर्ने अडानमा आफूहरू रहेको खड्का बताउँछन्। उनी भन्छन्, ‘परिक्षा हुनुभन्दा केही समय अघि मात्रै विज्ञ को हुने? भन्ने थाहा हुनुपर्छ। तर, उनीहरूले एकदिन अघि नै विज्ञ ल्याइ सक्नु भएछ। अनि कसरी हामी सहमत हुन्छौं।’

सम्बन्धित पाेष्टहरु
Loading...