Radio Unity 92.2MHz

डडेल्धुरा महोत्सव भव्यताका साथ सम्पन्न

डडेल्धुराः डडेल्धुरा सदरमुकाममा आयोजना भएको ‘डडेल्धुरा महोत्सव २०७८’ भव्यताका साथ सम्पन्न भएको छ। अमरगढी नगरपालिकाको आयोजनामा मंगलबारदेखि टुँडिखेलमा सुरु भएको महोत्सव बिहीबार सकिएको हो।

नगरपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि पर्यटन पूर्वाधार, अमरगढी स्मार्ट सिटी निर्माणको आधार’ नाराका साथ रजत जयन्तीको अवसर पारेर प्रतिभा पहिचान तथा संस्कृति संरक्षणका लागि महोत्सवको आयोजना गरिएको थियो।

महोत्सवले यहाँ स्थानीय कला संस्कृतिको संरक्षणमा केही हदसम्म टेवा पुगेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। महोत्सवले अमरगढीको मात्र नभएर डडेल्धुरासहित सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको भनाइ छ। उनका अनुसार यहाँको स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थियो।

महोत्सव भव्यताका साथ सम्पन्न गर्ने सबैलाई नगरप्रमुख ओझाले धन्यवाद दिए। महोत्सव अवधिभर विभिन्न स्थानीय विद्यालय र देउडा गायक महेशकुमार अउजी, रेखा जोशी, जनक ताम्राकार, सूर्यविरही साउँद, लालबहादुर धामी (अछामी बड्डो), भोजराज भट्ट, सुधिर जैरु र रमेश मल्ललगातयका कलाकारले प्रस्तति दिएका थिए।

महोत्सवमा स्थानीय खाद्य परिकार पनि राखिएको थियो। महोत्सवका अवसरमा नगरपालिकाले एक महिला, उत्कृष्ट कृषक,उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, समाजसेवीलगायत महत्वसव सफल मार्न सहयोग गर्ने सबैलाई सम्मान तथा प्रशंसापत्र दिएको थियो।

महोत्सवमा प्रवेश निःशुल्क थियो। महोत्सवका लागि नेपाल पर्यटन बोर्डले ५ लाख रूपैयाँ सहयोग गरेको थियो। महोत्सवको मंगलबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...