Radio Unity 92.2MHz

डडेल्धुराको आलितालमा ८ महिनाकी छोरी छोडेर १८ वर्षीय महिला वेपत्ता

खोजी गरि दिन माइती पक्षको आग्रह, घरपरिवारको वेवास्ता

डडेल्धुराः जिल्लाको आलिताल गाँउपालिका–६ डाणी कोइराली घर भएकी १८ वर्षीय महिला २७ दिनदेखी वेपत्ता छिन्।

कैलालीको चुरे गाँउपालिका–६ कुमैना माइती घर भएकी दिपा बोहरा ८ महिनाकी छोरी छोडेर वेपत्ता रहेको माइती परिवार स्रोतले जानकारी दिएको छ।

उनको खोजीका लागि परिवारले कुनै चासो नदिएपछि माइती पक्षबाट भने खोजी कार्य गरिदिन आग्रह गरेका छन्।

आलितालको धिमडामा रहेको प्रहरी चौकीमार्फत खोजी कार्यका लागि जाहेरी दर्ता गराए पनि अहिले सम्म कुनै जानकारी नआएको माइती पक्षको गुनासो छ।

करिव डेढ वर्ष अगाडी आलितालका पदम बोहरासंग भागी विवाह गरेकी बोहरा गत साउन महिनामा छोरी जन्मीएदेखी माइतमै वस्दै आएकी र माइतबाट फागुन ७ गते आलिताल घर गएकी उनकी आमा मानादेवी धामीले बताइन्।

केही दिनपछि छोरीलाई फोन गर्दा ४ दिन सम्म फोन स्विचअफ भएपछि घरपरिवालाई फोन गर्दा छोरी घरमा नरहेको जानकारी पाएको उनले बताइन्। फागुन २४ गतेदेखी नै घरमा नरहेको र छोरी छोडेर गएको भन्ने जवाफ आएपछि आफू भावविहल भएको बताइन्।

‘छोरीका घरका परिवारले जानकारी नै दिएनन्, आफूले फोन गर्दा छोरी हराएको ४ दिन वितिसकेका थियो। जानकारी पाएपछि छोरीकै घर नजिकको धिमडा प्रहरी चौकीमा खोजीका लागि जाहेरी दिएकी छु,’ उनले भनिन्।

१६ वर्षको उमेरमा विवाह गरेर गएकी छोरी हराएको २५ दिनभन्दा बढी हुँदा आमा भने निकै पिडामा छिन्। घरपरिवारबाटै हराएकी छोरीको ‘कि सास कि लाश’ चाहियो भन्दै तत्काल खोजी गर्न उनले आग्रह गर्दैै आएकी छन्।

उनका श्रीमान् भारतमा रोजगारी गर्ने र केही समय घरमा पनि आउने जाने गर्दै आएका थिए। भारतमै काम गरिरहेको बताउने श्रीमानले माघको महिना दोस्रो विवाह गरि अर्की श्रीमती भित्र्याएपछि परिवारमा समस्या भएको नजिकका आफन्तले बताए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने महिलाको खोजी कार्य तिव्र पारेको जनाएको छ। फागुन २४ गते आलितालको घरेलुबाट जीप चढेर बुडरसम्म पुगेको भन्ने जानकारी स्थानीयबाट प्राप्त भएको र त्यसपछि कता गइन् भन्ने बिषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...