अजयमेरुका अध्यक्ष भट्टले कार्यालयलाई बुझाए सरकारी गाडी
डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट (विकास)ले आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । अध्यक्ष भट्टले बिहीबार गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत गंगाराम सपकोटालाई चाबी दिँदै सरकारी गाडी फिर्ता गरेका हुन् ।
उनले बा २ झ ३७८४ नम्बरको सतो प्लेटको महिन्द्रा स्कारपियो गाडी पालिकालाई बुझाएको जानकारी दिए । स्थानीय निर्वाचन नजिकिएसँगै राजनीतिक काममा बढी प्रयोग हुने देखिएकाले विगत चार वर्षदेखि अध्यक्षको हैसियतले प्रयोग गर्दै आएको गाडी कार्यालयलाई बुझाएको उनको भनाइ छ ।
यससँगै जिल्लामा गाउँपालिकालाई सरकारी गाडी फिर्ता गर्ने भट्ट पहिलो अध्यक्ष बनेका छन्। जिल्लाका अन्य गाउँपालिका अध्यक्ष तथा नगरप्रमुखहरूले गाडी फिर्ता गरेका छैनन्।
माओवादी केन्द्र गाउँ कमिटीको पूर्ण बैठकले भट्टलाई फेरि अध्यक्षको उम्मेदवार बनाएको छ । देशभरिका स्थानीय तहमध्ये कार्यसम्पादनमा अजयमेरुलाई पहिलो बनाउने अध्यक्ष भट्टलाई पुनः उम्मेदवार बनाउने हालै सर्वसम्मत निर्णय भएको थियो।
२०७४ सालको स्थानीय चुनावमा माओवादीले त्यहाँ ५ वडा बहुमतसहित अध्यक्ष र उपाध्यक्ष जितेको थियो । यहाँ ६ वटा वडा रहेका छन् । अजयमेरु गाउँपालिकालाई कार्यसम्पादन मूल्यांकनमा देशकै पहिलो स्थानमा राखिएको थियो। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनअनुसार अजयमेरु देशभरिमै पहिलो बनेको थियो ।