Radio Unity 92.2MHz

डडेल्धुरामा लैङ्गिक हिंसाविरुद्ध साझा प्रतिबद्धता व्यक्त

डडेल्धुराः डडेल्धुरामा लैङ्गिक हिंसाविरुद्धको साझा प्रतिबद्धता व्यक्त गरिएको छ। शक्रुबार जिल्ला सदरमुकाममा राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘समाजमा विद्यमान हानिकारक अभ्यासहरू छाउपडी प्रथा, बालविवाह, बहुविवाह, दाइजो प्रथा, बोक्सीको आरोपलगायतका प्रथाहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रममा साझा प्रतिबद्धता व्यक्त गरिएको हो।

कार्यक्रमका सहभागीहरूले लैङ्गिक भेदभाव, हिंसा र दुव्र्यवहार रहित न्यायपूर्ण समाजको निर्माणमा ऐक्यबद्धता जनाउँदै समाजमा विद्यमान हानिकारक अभ्यासहरू छाउपडी, बालविवाह, दाइजो, लिंग पहिचानसहितको गर्भपतन, बोक्सीको आरोप, जातीय छुवाछुत र विभेद र महिलामाथि हुने कुनै पनि हिंस्सा नगर्ने प्रतिबद्धता जनाएका छन्।

यदि कसैमा यस्ता किसिमका हिंस्सा भएमा प्रतिकार गर्न सामूहिक प्रतिबद्धतासमेत व्यक्त गरिएको छ। हिंसाविरुद्धको साझा प्रतिबद्धताको व्यानरमा सहभागीहरूले हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका हुन्।

कार्यक्रमका अध्यक्ष राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले सामाजिक रूपान्तरणका साथै राजनीतिक प्रतिबद्धता, सुझबुझपूर्ण राजनीतिक नेतृत्व र सही सोचबाट मात्र हानिकारक परम्परागत अभ्यासहरूको अन्त्य सम्भव रहेको बताइन्।

उनले विगतभन्दा केही परिवर्तन भएको र विस्तारै सबै प्रकारका हिंसाहरू अन्त्य हुने विश्वास व्यक्त गरिन्। महिलाको विरोधी पुरुष नभई समाज भएको उनको भनाइ थियो। जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले हानिकारक अभ्यासको अन्त्यका लागि पनि सबैको भूमिका आवश्यक रहेको बताए।

कार्यक्रममा जिल्लाका पालिकाका उपप्रमुखहरू, न्यायिक समितिका सदस्यहरू, विभिन्न राजनीतिक दलका महिला नेतृहरू, स्थानीय तहमा महिला बालबालिका शाखामा कार्यरत कर्मचारीहरू, कानुन व्यवसायी, अधिकारकर्मी, सञ्चारकर्मी, गैससकर्मी, किशोरकिशोरीलगायतको सहभागिता रहेको थियो।

सम्बन्धित पाेष्टहरु
Loading...