Radio Unity 92.2MHz

बजार क्षेत्रको फोहर सही ढंगले व्यवस्थापन गर्नुपर्ने माग

डडेल्धुराः बजार क्षेत्रको फोहरमैलालाई सही ढंगले व्यवस्थापन गर्नुपर्ने भन्दै अमरगढी नगरपालिकालाई ज्ञापनपत्र बुझाइएको छ।

सोमबार अमरगढी नगरपालिकाका नगर प्रमुखका निकटतम प्रत्यासी अधिवक्ता हरिप्रसााद भट्ट, उपप्रमुखका निकटतम प्रत्यासी यज्ञराज अवस्थी र वडा नं. ९ का वडाध्यक्षका निकटतम प्रत्यासी पदमबहादुर रोकायाले नगरप्रमुख डिल्लीराज जोशीलाई ज्ञापनपत्र बुझाएका हुन्।

‘अमरगढी नगरपालिका–५ को मुख्य बजार क्षेत्र बसपार्कबाट केही मिटर पूर्व अनपा १ मालम जानेबाटोमा नगरपालिकाको संकलित फोहरलाई फाल्ने कार्य सुरु गरेकोप्रति स्थानीय जनताले उठाएको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्र उल्लेख छ।

डडेल्धुराको मुख्य बजार बागबजार नजिकै रहेको ऋषिखोला सामुदायिक वन क्षेत्रमा एक महिनादेखि अमरगढी नगरपालिकाले बजार क्षेत्रको फोहर फाल्दै आएपछि पानीका मुहान दुषित हुने र वातावरणीय प्रभाव समेत नराम्रोसँग पर्ने भएका कारण तत्काल हटाएर विकल्प खोज्न नगरपालिकालाई ज्ञापनपत्रमार्फत् आग्रह गरिएको छ।

ऋषिखोलाकै विभिन्न मूलहरूबाट वडा नं. ८ र ९ का सम्पूर्ण टोलमा खोनेपानी जाने भएकाले मुहानकै मुखमा नगरपालिकाले फोहर लगेर थुपारिदिनु गैरजिम्मेवार र पूर्वाग्रह भएको नगरप्रमुख जोशीलाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख छ। नगरपालिकाले बजार छेउमै फोहरमैला फाल्ने काम तत्काल रोकेर नयाँ ठाउँ खोज्नुपर्ने उनीहरूको माग छ।

फोहरमैला व्यवस्थानपनका लागि सरोकारवाला पक्षको भेला बोलाइ वातावरणीय प्रभाव मूल्याकंन गरी फोहरमैला व्यवस्थानपनमा आफूहरू सहयोग गर्न तयार रहेको अधिवक्ता भट्टले बताए। हचुवाका भरमा फाल्ने प्रवृतिबाट उत्पन्न हुने अप्रिय परिणामको लागि स्वयम नगरपालिका जिम्मेवार हुनुपर्ने चेतावनीसमेत ज्ञापनपत्रमार्फत् दिइएको छ। नगर प्रमुख जोशीलाई बुझाएको ज्ञापनपत्रलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरा र डिभिजन वन कार्यालय डडेल्धुरालाई बोर्धाथ गरी पठाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...