धनगढीः आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नं. ५ मा महासमिति सदस्य क्षितिज भण्डारीले आफ्नो उम्मेदवारीका लागि दाबी गरेका छन्। डा.आरजु देउवा राणालाई जबर्जस्ति सर्वसम्मत उम्मेदवार बनाउने प्रपन्चविरुद्धमा बिहीबार पार्टी कार्यालयमा उनले उम्मेदवार बन्नका लागि सिफारिस गरी पाऊँ भनेर निवेदन दर्ता गराएका छन्।
अघिल्लो महाधिवेशनमा डा शेखर–गगन टिमबाट केन्द्रीय सदस्यमा खुलाबाट झिनो मतले पराजित भण्डारी निवेदन दर्तापछि नेताकार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘आज म आफू जन्मेको स्थान, स्कुल र क्याम्पस पढेको र ३० वर्ष प्रत्यक्ष राजनीति गरेको कैलाली–५ धनगढीबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको लागि विधिवत निवेशन दर्ता गरेका छु।’
युवा नेता भण्डारीले उम्मेदवारी दर्तापछि सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्दै बुधबार पार्टी सभापति नारायण भट्ट र केन्द्रीय नृप ओडलगायत नेताहरूसँग भेटवार्ताको सार बुझ्न नेपाली कांग्रेस पार्टीले कारबाही गरेका नेता पुष्करनाथ ओझाकहाँ पुगेका थिए।
ओझा र भण्डारीबीच भएको एक घन्टा छलफलमा ओझाले आफूपनि कांग्रेसीको मत लिएर कैलाली क्षेत्र नः ५ बाट नै प्रत्यक्षमा उम्मेदवारी दिने र केन्द्रीय सभापति देउवाले भेट्न चाहेमा उम्मेदवार हुनेबारे भेट्न तयार रहेको बताएका थिए।
नेता भण्डारीले अघिल्लो पटक पनि आरजुविरुद्धमा प्रतिनिधिसभामा उम्मेदवारी दिएर पछि अर्को निर्वाचनमा टिकट दिने शर्तमा फिर्ता लिएकाले यो उम्मेदवारी देउवा परिवारको बचनसँग जोडिएको देखिन्छ। तर, पार्टी जिल्ला र क्षेत्रीय समितिले बालुवाटारको दबाबमा भण्डारीको नाम सिफारिस नगर्ने बताइन्छ। जुन नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्र र पद्धति विपरीत हुने देखिन्छ।