डडेल्धुरा: डडेल्धुरामा आयोजना हुने दिजगंगा मेमोरियल पुरुष टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ।
डडेल्धुरा जिल्ला क्रिकेट संघले शुक्रबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गर्दै ट्रफी सार्वजनिक गरेको हो।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले ट्रफी सर्वाजनिक सार्वजनिक गरेका हुन्। प्रतियोगिता असोज १२ गतेदेखि अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रथम हुने टिमलाई ट्रफीसहित नगद ५१ हजार रुयैयाँ पुरस्कार दिइने छ । द्धितीय हुने टिमले नगद २५ हजार ५ सय ५१ रुयैयाँका साथै ट्रफी पाउनेछ । टिम दर्ता शुल्क ४० हजार राखिएको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको अनुमानित खर्च विवरण पनि सर्वाजनिक गरिएको छ ।
डडेल्धुरा जिल्ला क्रिकेट संघका सदस्य बासुदेव जोशीले प्रतियोगिता सम्पन्न गर्नका लागि पुरस्कार राशिबाहेक पाँच लाख ४६ हजार २ सय रुयैयाँ लाग्ने जानकारी दिए । सातवटै टिमलाई आयोजकले नै पोशाक उपलब्ध गराउने उनले बताए ।
उनका अनुसार पोशाक खर्च २ लाख १ हजार ६ सय रुयैयाँ लाग्नेछ । सात टिमका १६–१६ खेलाडीलाई पोशाक उपलब्ध गराइने उनको भनाइ छ । प्राविधिक खर्च ८९ हजार ६ सय र टेन्ट खर्च ३५ हजार लाग्ने जोशीले जानकारी दिए ।
यसैगरी प्रतियोगिताभर बल खर्च ३० हजार, स्टेश्नरी र ब्यानर खर्च २५ हजार, यातायात खर्च १५ हजार, सबै विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार स्वरूप ७५ हजार अतिथि सत्कार खर्च ५० हजार, उद्घाटन र समापन खर्च २५ हजार लाग्ने आयोजकको अनुमान छ ।
ट्रफी सार्वजनिक गर्दै जिसस प्रमुख भण्डारीले खेलका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने बताए। उनले खेलकुदमा राज्यको लगानी हुनुपर्नेमा जोड दिए । उनले जिल्लामा राष्ट्रिय स्तरको मैदान आवश्यक रहेको औंल्याए।
‘हामीकहाँ खेल मैदानको अभाव छ। जिल्लामा राम्रो राष्ट्रिय स्तरको मैदान बनाउनुपर्छ,’ उनले भने, ‘सबै स्थानीय तहले मिलेर जिल्लाको एक राष्ट्रिय स्तर मैदान हुन निकै आवश्यक छ।’ जिसस प्रमुख भण्डारीले यस जिल्लास्तरीय प्रतियोगिताले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे।
जिल्लामा क्रिकेटका गतिविधिहरू शून्य भइरहेको अवस्थानमा खेलाडी उत्पादन गर्न जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिएको जिल्ला क्रिकेट संघका अध्यक्ष हरिप्रसाद उप्रेतीले बताए। उनले यस प्रतियोगिताबाट जिल्लाको टिमसमेत निर्माण गरिने जानकारी दिए।