डडेल्धुराः यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई बिना भेदभाव स्वीकार गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। शुक्रबार डडेल्धुरा जिल्ला सदरमुकाममा आयोजित ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरूका विषयमा सरोकारवालाहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम’का सहभागीहरू सो कुरामा जोड दिएका हुन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिमले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांश व्यक्तहरूले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सबैले सम्मान र इज्जत दिनुपर्नेमा जोड दिएका थिए।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले भोग्दै आएको समस्याबारे सरकारवालाको ध्यान दिन आवश्यक रहेको मन्त्रालयअन्तर्गतको सामाजिक विकास महाशाखाकी महिला विकास अधिकृत जयन्ती गिरीले बताइन्।
यौनिक तथा लैंगिक समुदायको लागि बनेको अधिकारलाई पनि उपभोग गर्न नपाएको यस क्षेत्रमा काय गर्ने संस्था सुदूरपश्चिम समाजकी अध्यक्ष करुणा नेपालले गुनासो गरिन्। यसतर्फ पनि सरोकारवालाहरूको ध्यान जान आवश्यक रहेको उनले औंल्याइन्।
यौनिक तथा लैंगिक समुदायका व्यक्तिहरू अझैं पनि समाजमा खुलेर बाहिर आउन नसकेको उनको भनाइ थियो। स्थानीय सरकारहरूले पनि यस समुदायलाई लक्षित गरेर बजेट विनियोजन नगर्ने गरेको उनले बताइन्। यौनिक तथा लैंगिक समुदायका व्यक्तिहरूलाई पनि अरु जतिकै माया र सद्भावको खाँचो रहेको उनको तर्क थियो।