Radio Unity 92.2MHz

वर्षाले डडेल्धुराको भोरकुण्डामा धानवाली सखाप, भोकमरीको चिन्ता

  • प्रकाश पार्की

डडेल्धुराः अविरल वर्षाले डडेल्धुराको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिका–६ भोरकुण्डाका किसानको धानवाली सखाप पारेको छ। काटेर सुकाउनको लागि राखेको धान भारी वर्षा भएपछि बारीमै कुहिन थालेको छ।

भोरकुण्डाका ४० परिवारको धानवालीमा पानीले ठूलो क्षति पुर्‍याएको स्थानीय भूपेन्द्र धामीले युनिटीखबरलाई जानकारी दिए। उनका अनुसार केही दिनयतादेखिको भारी वर्षाले काटेर राखेको धानवालीमा ठूलो क्षति गरेको हो।

वर्षभरी खानलाई पुग्ने धान पानीले गर्दा बारीमै कुहिन थालेपछि किसानहरू चिन्तित बनेका छन्। उनीहरूलाई वर्षभरी के खाने र बालबालिका कसरी पाल्ने भन्ने चिन्ताले सताउन थालेको छ।

परशुराम–६ भोरकुण्डाका स्थानीय नरेन्द्रबहादुर धामीले भने, ‘पानीले धानवालीलाई नष्ट गरेको छ। यो वर्षभरीलाई पुग्ने धान हो। अब यसवर्ष के गर्ने चिन्ता निकै चिन्ताले सताएको छ।’

सोही ठाउँकी स्थानीय द्रोपती बमले लगातारको वर्षाले काटेको धान बारीमै कुहिएको बताइन्। ‘लगातारको पानीले काटेर धानवाली बारीमै कुहिएको छ। पानीले गर्दा लुट्याएर रोखको मकै पनि कुहियो,’ उनले भनिन्,‘पहिरोबाट जोगिएको धेरै जमिनमा लगाएको खेती पनि पानीले नष्ट गर्‍यो। अब भोकमरी हुने चिन्ता बढ्यो।’

परशुराम–६ भोरकुण्डाकै चक्रसिंह रावतले आफूहरूको समस्या कसैले पनि समाधान नगरेको गुनासो गरे। उनले नेताहरू तथा जिल्लाका कर्माचारीहरू आउने तर आफूहरूका माग कसैले पनि सम्बोधन नगरेको उनको आरोप छ।

‘वर्षेनि आउने बाढीले हाम्रो भोरकुण्डा धेरै नै क्षति परेको छ। वर्षपछि पनि ठूलोठूला नेता, जिल्लाका कर्मचारी, वडाका जनप्रतिनिधि आएर केही न केही गछौं भने तर अहिलेसम्म केही पनि गरेनन्,’ उनले गाउँको समस्या सुनाउँदै भने,‘तटबन्ध गर्छौं भन्ने आश्वास दिएर गएका नेताहरू अहिलेसम्म पनि फर्किएका छैनन्। हामी निकै समस्यामा छौं। बाढीपहिरोबाट बचेको थोरै जमिनमा धान खेती लगाएका थियौं। त्यो पनि पानीले सखाप पारिदिएको छ।’ स्थानीय सरकारले राहत उपलब्ध गराउनुपर्ने यहाँका किसानहरूको माग रहेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...