Radio Unity 92.2MHz

प्रहरी दिवसमा डडेल्धुराका अमर प्रहरीका परिवारलाई सम्मान [फोटो फिचर]

डडेल्धुरा: सोमबार ६७औं प्रहरी दिवसका अवसरमा डडेल्धुरामा अमर प्रहरीका ७ परिवारलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिवसका अवसरमा अमर प्रहरीका परिवारलाई सम्मान गरेको हो।

अमर प्रहरी बासुदेव भट्ट, दीलबहादुर ऐर, धर्म मल्ल, देवदत्त बडू र टेकबहादुर शाहीका परिवारलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरूलाई दोसल्ला ओडाएर कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सम्मान गरेका हुन्।

यसका साथै दिवसकै अवसरमा उत्कृष्ट प्रहरी कर्मचारी र ज्येष्ठ प्रहरीलाई पनि सम्मान गरिएको छ। प्रहरी संगठनभित्र रहेर उत्कृष्ट काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेय र भीमराज भट्ट, प्रहरी वरिष्ठ हवल्दार पदमबहादुर बलायर, प्रहरी हवल्दार अम्वादत्त जोशी, प्रहरी सहायक हवल्दार मिरा धामी, प्रहरी जवान कृष्णदत्त बडू र लक्ष्मण सार्कीलाई नगदसहित पुरस्कृत गरिएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए।

साथै ज्येष्ठ प्रहरी पदमराज पन्तलाई सम्मान गरिएको छ। उनले २०४० सालमा अवकास पाएका थिए। जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको शहीद स्मारकमा प्रमुख जिल्ला अधिकारी जोशीले पुष्पमाला अर्पण गरेर दिवसको शुभारम्भ गरेका थिए । प्रजिअ जोशीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न प्रहरीले महत्वपूर्ण भूिमका निर्वाह गरिरहेको बताए।

जनताको जिउधनको सुरक्षा गर्न जिल्ला प्रहरी कार्यालयको नेतृत्व र सम्पूर्ण कर्मचारीले खेलेको भूमिका अहम् रहेको उनको भनाइ थियो। मंसिर ४ हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका महत्वपूर्ण हुने उनले औंल्याए ।

कार्यक्रममा डीएसपी भट्टले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्नमा आफूहरू लागि रहेको बताए । उनले अपराध नियन्त्रणमा सबै पक्षको सहयोग पनि आवश्यक रहेको बताए।

  

सम्बन्धित पाेष्टहरु
Loading...