Radio Unity 92.2MHz

देउवाको प्रशंसामै रमाएका खगराज आफूलाई मत माग्न बिर्सिएपछि…

डडेल्धुराः तीन पटक प्रतिनिधि सभाको निर्वाचनमा शेरबहादुर देउवासँग पराजित नेता हुन् खगराज भट्ट। माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज रहेका भट्ट यस पटक भने प्रदेश सभाको चुनाव लड्दै छन्।

सत्ता गठबन्धनका कारण एउटा मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवा चुनाव लड्ने भएपछि भट्ट यश पटक प्रदेश सभामा लड्दै छन्। यस अघिका यी दुई प्रतिष्पर्धी यस पटक प्रतिष्पर्धामा छैनन्।

कुनै समय एक अर्कोका चर्को आलोचक देउवा र भट्ट यस पटक भने एउटै कार्यक्रममा एक अर्काको प्रशंसा गर्नमा व्यस्त देखिन्छन्।

यस्तै रोचक दृश्य बिहीबार डडेल्धुरा सदरमुकाम बसपार्कमा सत्ता गठबन्धनले आयोजना गरेको बृहत् चुनावी आमसभामा पनि देखियो। आम सभालाई सम्बोधन गरेका भट्टले करिब २० मिनेट लामो सम्बोधन गरेका थिए।

उनले खर्चिएको समय देउवाको प्रशंसा र एमाले अध्यक्ष ओलीको कटाक्ष गर्नमै बिताए। देउवालाई ‘राजनेता’को संज्ञा समेत दिन भ्याएका भट्टले देउवाको प्रशंसा गर्दा गर्दै आफ्नो लागि मतदातासँग मत माग्न समेत बिर्सिए।।

देउवालाई नेपाली काँग्रेसको सभापति मात्रै भन्यो भने देउवाको अवमूल्यन हुने भन्दै उनले देउवा नेपाली जनताको नायक भएको प्रतिक्रिया दिए।

शेरबहादुरसँग तीन चोटी चुनाव लडेको स्मरण गर्दै भट्टले ०६४ मा त झन्डै चुनाव अराइसकेको स्मरण गर्दै भने, ‘उहाँको वुवाको निधन भएको थियो। म भेट्न उहाँको घरमा गएको थिए। काँग्रेसका साथीहरू पनि हुनुहुन्थ्यो, त्यहीँ समयमा मलाई भेट्न बाहिर आउनु भएको उहाँले भन्नुभयो उसलाई चिन्नुभएको छ, झन्डै झन्डै मलाई हराएदिने मान्छे त्यहीँ हो।’

उनले देउवासँग अरूको प्रशंसा गर्ने हृदय समेत रहेको बताए। उनले भने, ‘हिजो मलाई चुनाव हारेकोमा दुख थियो। तर, ओलीको अंहकार र सडयन्त्रकारी प्रवृत्तिका बिरुद्ध उहाँले खेलेको भूमिकाले आज मलाई चुनाव हारेकोमा पनि गर्व छ।’

उनले ओलीलाई कुक्याउने पिडालु भएको र देउवा पिडालु कुक्याउनेबाट बचाउने कागती भएको प्रतिक्रिया दिए। ‘अब कागतीलाई भोट हाल्ने की कुक्याउने पिडालुलाई हाल्ने तपाईंको हातमा छ,’ उनले भने।

माओवादीका साथीलाई शिर ठाडो र छात्ती फराकिलो बनाएर रूखमा भोट हाल्न आफूले आग्रह गरेको सुनाए। मंसिर चार कति चाँडो आउँला र शेरबहादुरलाई भोट हालेर जिताऔं जस्तो आफूलाई लागेको बताए।

‘६ पटक शेरबहादुरको विजयीको मिठाइ तपाईंहरूले मात्रै खानु भयो। यस पटक मलाई पनि खान मन छ। तर, के गर्नु मंसिर चार पर्खिनु नै प¥यो,’ उनले भने, ‘यस पटक देउवालाई ऐतिहासिक रूपमा विजयी गराइदिनुस्।’

भट्टको प्रशंसाबाट खूसी भएका देउवाले पनि आफ्नो लागि मत मागेनन्। बरु उनले यस पटक डडेल्धुरा प्रदेश ‘क’ मा भट्टलाई विजयी गराइदिन आग्रह समेत गरे। आफ्नो बारेमा शव्द खर्चिएकोमा देउवाले भट्टलाई धन्यवाद समेत दिए।

सम्बन्धित पाेष्टहरु
Loading...