डडेल्धुराः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पश्चिम सेती र तल्लो सानो सेती (एसएसआर) सहितका जलविद्युत आयोजनाहरू निर्माण कार्य पूरा गर्ने बताएका छन्।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ स्थित बेलापुरमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमलाई आर्थिकरूपमा समुन्नत बनाउन जलविद्युतको विकासमा ध्यान दिने बताएका हुन्।
उनले भने, ‘पश्चिम सेती सुदूरपश्चिमको मात्रै होइन, देशकै अर्थतन्त्र उकास्ने महत्त्वपूर्ण आयोजना हो। यसको निर्माण सम्पन्न गरेपश्चात् हामीले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सक्छौँ । पश्चिम सेती निर्माणका लागि सम्झौता भइसकेको छ।’
उनले सेती र महाकाली क्षेत्रका नागरिकलाई आर्थिकरूपमा सबल बनाउनका लागि पनि योजना बनाउने बताए। उहाँले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासहितको सत्तारुढ गठबन्धनलाई जिताउन अपिल पनि गरे। प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता गर्नका लागि कूटनीतिक पहल गर्ने बताए।
उनले भारत र चीनसँग सीमा विवादका सन्दर्भमा सरकारले कूटनीतिक पहल गर्ने र वार्ताबाटै समस्याको समाधान खोज्ने औंल्याए। उनले दुई पटक संसद् भङ्ग गर्ने अघिल्लो सरकारको कदमको आलोचना गर्दै अब संसद् र सरकारको स्थायित्वकै लागि गठबन्धन गरिएको उल्लेख गरे।