कैलालीः नेपाल तरुण दल जिल्ला कार्यसमिती कैलालीले आसन्न चुनावी अभियानअन्तर्गत शुक्रबार धनगढीमा चुनावी बृहत् जिल्लास्तरीय तरुण भेला सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवारलाई पूर्णरूपले जिताउन तरुणहरूलाई निर्देशन दिए।
पाँचवर्षसम्म केपी ओलीको सरकारले जनतालाई झुक्याउने कामबाहेक केही नगरेको कुरा बताउँदै उनले अहिले राजावादीहरूसँग मिलेर देशमा निरङ्कुस प्रवृत्ति लाद्न खोजेको र डोहोर्याउन खोजेको वास्तविकतालाई तरुणहरू सजग हुनुपर्ने औंल्याए।
अध्यक्ष गुरुङले कांग्रेका बागी उम्मेदवारहरूको क्रियाकलापप्रति तरुणको अर्जुनदृष्टि हुनुपर्ने र उहाँहरूको कार्यको भन्डाफोर गर्न परिचालन हुनुपर्ने बताए।
‘नेपाली काङ्ग्रेसले पनि थुप्रै युवा उम्मेदवार उठाएको छ। घण्टी, लौरो र विभिन्न नाममा चुनावकै लागि मात्रै आएकाहरुलाई होइन हिजो राणा, राजाको तानाशाही प्रवृत्तिविरुद्ध लडेका कांग्रेसका युवा उम्मेदवारहरुलाई जिताउनुहोस्,’अध्यक्ष गुरुङले भने,‘दल बाहिरबाट युवाको विकल्प खोज्नुपर्ने अवस्था छैन। इतिहास कोर्न हिजोको दिनमा कस्को वलिदान, त्याग र समर्पण छ मूल्यांकन गर्नुहोला।’
उनले कांग्रेस र सत्ता गठबन्धनबाट आवश्यक मात्रामा युवालाई उम्मेदवार बनाएको जिकिर गरे। योगदान नभएका व्यक्ति र दलभन्दा राजनीतिक परिवर्तनको इतिहास बोकेका पार्टीको योगदानलाई हेरेर मत दिन उनले आग्रह गरे। कार्यक्रममा गठवन्धनका तर्फबाट कैलाली–५ का प्रतिनिधिसभा उम्मेदवार डिल्लीराज पन्त र प्रदेशसभा ‘ख’ का उम्मेदवार प्रकाश देउवाले आफ्नो भनाइहरू राखेका थिए।