Radio Unity 92.2MHz

ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गर्नुभयो : देउवा

डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले राति दुई बजे राष्ट्रपतिलाई उठाएर संसद् भंग गरेको आरोप लगाएका छन्। गृहजिल्ला डडेल्धुराको अजयेमरु गाउँपालिका भद्रपुरमा आयोजित सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री ओलीले दुई पटक संसद् भंग गरेको आरोप लगाएका हुन्।

‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् २ पटक भंग गरिदिनुभयो,’ देउवाले भने,‘दिउँसो गरेको भएहुन्थयो। भोलिपल्ट बिहान गरे पनि हुन्थ्यो तर राति नै किन गर्नुपरेको थियो? उहाँले षडयन्त्रपूर्वक दुईपल्ट संसद् भंग गर्नु भएको हो।’

ओलीले संसद् भंग गरेर अत्ति नै गरेपछि आफूहरू अदालत गएको पनि देउवाले सुनाए। उनले प्रचण्ड र माधव नेपालको सहयोगले आफू पाँचौंपटक प्रधानमन्त्री बन्न पाएको पनि बताए।

उनले अहिलेको गठबन्धन निकै आवश्यक रहेको पनि धारणा राखे। ‘जुन अहिले गठबन्धन बनेको छ। यो अत्यन्त आवश्यक रहेको छ। अहिलेलाई मात्रै होइन, पछिसम्मलाई पनि गठबन्धन मिलेर सरकार बनाउनुपर्ने अवस्था छ,’ देउवाले भने, ‘धेरै लामो समयदेखि लडेर ल्याएको प्रजातन्त्र, गणतन्त्रको रक्षा गनुपर्नेछ।’

उनले डडेल्धुरामा विकास निमार्णका धेरै काम भएको र बाँकी कामहरू पनि चाँडै पूरा गर्ने आश्वास दिए। उनले अजयमेरु गाउँपालिकाको पुइलेकमा एयरपोर्ट बनाएर नै छाड्ने प्रतिबद्धता व्यक्त गरे। यसका साथै उनले डडेल्धुरामामेडिकल क्लेज संचालनमा ल्याउने र मेडिकल शिक्षा पढ्नको लागि दिल्ली, काठमाडौंलगायतका ठाउँ जानुपर्ने बाध्यता हटाउने पनि आश्वासन देउवाले बाँडे।

सम्बन्धित पाेष्टहरु
Loading...