डडेल्धुरा: प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताएका छन्। प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको बताए।
शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने– ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो। त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ।’
कांगेस सभापति समेत रहेका देउवाले ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताए। उनले भने– ‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँ ? कि लड्नुपर्यो। बन्दुक ल्याउनुहोला। होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो। भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ।’
सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे। प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो। उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ। डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ। उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला।’
उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए। उनले भने– ‘डडेल्धुरामा मेडिकल कलेज भइसकेको छ । एयरपोर्ट बन्दै छ। म यहाँको सहयोगले म पाँच पटक प्रधानमन्त्री भइसकेको छु। यहाँको सहयोगले फेरि अगाडि बढ्नेछु। डडेल्धुरामा केही काम गर्न बाँकी छन्। त्यसलाई पूरा गर्ने छु। यहाँको सडक पिच गर्ने छु। विमानस्थल बनाउने छु। सबैलाई खानेपानी पुर्याउने विश्वास दिलाउँछु।’
उनले ३६ सालदेखि आफू लगातार गाउँ आइरहेको बताउँदै योपटक गाउँ आउन पाउँदा शौभाग्यशाली ठानेको बताए। उनले भने, ‘यहाँ धेरै मेरा साथी भाइ पनि छ। यो ठाउँमा फेरि भेट्न पाउँदा आफूलाई शौभाग्यशाली ठान्छु । धेरै भन्नू केही छैन।’