डडेल्धुरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) डडेल्धुराले कैलालीको धनगढीमा भएको विद्यार्थीमाथिको धरपकड तथा गिरफ्तारीको घोर निन्दा र भर्त्सना गरेको छ।
नेकपा एकीकृत सामाजवादी निकट अनेरास्ववियू डडेल्धुराले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीमाथि गरिएको धरपकड तथा गिरफ्तारीको भर्त्सना गरेको हो। अनेरास्ववियले चेतना साउँदको न्यायको निम्ति भइरहेको आन्दोलनप्रति ऐक्यबद्धतासमेत जाहेर गरेको छ।
‘मृतक छात्राप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनप्रति गहिरो समवेदन प्रकट गर्दछौं,’ कार्यबहाक अध्यक्ष हेमन्त पन्तद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ चेतनाको न्यायको निम्ति भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै आन्देलनमा प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको घोर निन्दा र भत्र्सना गर्दछौं। आन्दोलनलाई संयमित बनाउन आन्दोलनरत साथीहरूलाई अनुरोध गर्दै आन्दोलनरत गिरफ्तार साथीहरूलाई निसर्त रिहा गर्न माग गर्दछौं।’
ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउँदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले स्थानीय र विद्यार्थीहरु गरेर २३ जनालाई समातेको छ। ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी बालिकाका परिवारले प्रहरीले चालकविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि शव बुझेका छन्।
बालिकालाई ठक्कर दिने कालिका कन्सट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरका चालक भरतपुर महानगरपालिका २८ का २७ वर्षीय बिकल कुमालविरूद्व किटानी जाहेरी दर्ता गरेपछि पीडित परिवारले शव बुझेका हुन्।
चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बैतडीको डिलासैनी गाउँपालिका–६ की बालिका साउँदलाई बिहीबार बिहान विद्यालय जाने बेला धनगढी उपमहानगरपालिका ५ मा ग्रेडरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रशासनले घटनापछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। सोही अवस्थामा शुक्रबार बिहानैदेखि धनगढीमा विद्यार्थी र स्थानीयले प्रदर्शन गरेका थिए। चेतना धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्।
प्रेस विज्ञप्ति :