Radio Unity 92.2MHz

माओवादी केन्द्र सुदूरपश्चिमको संसदीय दलको नेतामा भट्ट

धनगढीः नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन भएका छन्। आज बसेको संसदीय दलको नेतामा भट्टलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरिएको हो।

साथै माओवादीको नेतृत्वमा सरकार बनाउने पहल गर्ने जिम्मा पनि बैठकले भट्टलाई दिएको छ। भट्ट स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज हुन्। यसअघि हिजोको बैठकमा सहमति हुन नसकेपछि आज दोस्रो दिन बैठक बसेको थियो।

दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने आजको बैठकले चयन गरेको छैन। पुस्तान्तरणको माग गर्दै दलको नेतामा दाबी गरिरहेका अर्का नेता तथा केन्द्रीय सदस्यसमेत रहेका ओमबिक्रम भाट सरलले अन्तिम समयमा भट्टलाई समर्थन गरेका थिए।

यसअघि शनिबार बसेको दलको बैठकमा भने दुवै नेताले दाबी नछाड्दा सहमति हुन सकेको थिएन। दलको नेतामा चयन भएका भट्ट डडेल्धुराको प्रदेशसभा–१ बाट निर्वाचित भएका थिए। नेपाली कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेका उनलाई भावी मुख्यमन्त्रीका रुपमा अघि सारिएको थियो।

मुख्यमन्त्री बनाउने समझदारीअनुसार नै आफू प्रदेशसभाको चुनाव लडेको बताउने गरेका भट्ट दलको नेता चयन भएसँगै उक्त बाटो पनि खुलेको छ। एमाले नेतृत्वमा बनेको नयाँ गठबन्धनमा पनि सुदूरपश्चिम माओवादीको भागमा पर्ने सम्भावना छ। माओवादीको भागमा परेको अवस्थामा भट्ट नै मुख्यमन्त्री बन्नेछन्।

सम्बन्धित पाेष्टहरु
Loading...