डडेलधुरा: डडेलधुराको परशुराम नगरपालिका–५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा स्नान गर्न पुग्ने भक्तजनको घुँइचो लागेको छ । पुस मसान्तको साँझ र माघे संक्रान्तिको बिहान यहाँ ठुलो मेला लाग्ने गर्दछ ।
यहाँ आएर रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्छन् । रात भर जाग्राम बसेमा पूण्य कमाइने विश्वास छ । माघ १ गते बिहानैदेखि महाकाली किनारमा नुहाउने भक्तजनहरूको पनि भीड लाग्ने गर्दछ ।
माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पापबाट मुक्ती पाइने मान्यताका कारण बिहानै स्थानीय स्नान गर्न गंगाकिनारमा जम्मा हुने गरेका छन् । मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला तथा छिमेकी राष्ट्र भारतबाट समेत तीर्थालु आएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष गणेशप्रसाद जोशीले जानकारी दिएका छन् ।
माघे संक्रान्तिबाहेक यहाँ औँशी, पूर्णिमा तथा ग्रहण लागेको समयमा पनि स्नान गर्न दर्शनार्थी आउने गरेको उनको भनाइ छ । नेपालभारतको सीमामा रहेको श्यामा (महाकाली) र ऐला (रंगुन) नदीको संगममा अवस्थित भृगुवंशी महर्षि जमदग्नी र रेणु पुत्रका भगवान परशुरामले तपस्या गरेको स्कन्द पुराणमा उल्लेख छ ।
स्कन्द पुराणका अनुसार परशुरामधाममा स्नानको ठूलो महत्व हुन्छ । महाकाली नदीमा स्नान गर्दा गंगा स्नानको समान पूण्य प्राप्त हुने पौरााणिक मान्यता रहेको र माघ स्नानको ठूलो महत्व छ ।