डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ सुन्कोटका चार वटा घर जोखिममा परेका छन्। घर नजिकै गाडेको विद्युत्को पोल ढल्नै लाग्दा घर जोखिममा परेका हुन्।
विद्युत्को पोल ढल्नै लाग्दा चार वटा घर जोखिममा रहेको स्थानीय डम्बर साउँदले जानकारी दिए। उनले नवदुर्गा गाउँपालिका र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुरालाई जानकारी गराउँदा समेत वास्ता नगरेकोे आरोप लगाए।
‘पानी पर्ने समयमा पोलबाट आगोको झिल्का आउँछन्। पोल पनि ढल्नै लागेको छ। घरमा स–साना बालबालिका छन्,’ उनले भने, ‘कति बेला पोल घरमा खस्छ भन्ने चिन्ता छ। पोल खसेर मानविय क्षती भएमा कसले व्यहोर्छ?’
विद्युत् प्राधिकरणका कर्मचारीले नजिकै अर्को पोल समेत गाड्न लगाएको उनी बताउँछन्। ‘नयाँ पोल राख्न लगायो। अहिले तलमाथि सार्न मिल्दैन भन्छन्। खर्च लगाएमा तलमाथि गर्न सकिन्छ भनेका छन्। हामीले कहाँबाट खर्च जुटाउने?’ उनले भने।
यता, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले ढल्न लागेको पोल सोही ठाउँमा गाड्न नदिएर त्यस्तो भएको जानकारी दिए। ‘ति व्यक्तिले आफ्नो जग्गाबाट हटाउन लगाएर अर्को ठाउँबाट तार तान्न आग्रह गरिरहेका छन्। तर, त्यस्तो हुँदैन्। सोही ठाउँमा मर्मत गर्न दियो भने हामी गछौं,’ उनले भने।