डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले लघुवित्त संस्थाहरूलाई कर्जा प्रवाहमा रोक लगाएको छ। बुधबार पालिकाले पत्र काट्दै पालिकाभित्र रहेका वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह बन्द गर्न भनेको हो।
नियमविपरीत मनोमानी ढंगले चर्को व्याज असुली गरिरहेको व्यापक जनगुनासो आएपछि कर्जा प्रवाहमा रोक लगाएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए।
‘हाम्रो गाउँपालिकाभित्र रहेका लघुवित्तहरूले चर्को रूपमा व्याज असुली गरिरहेको व्यापक गुनासो हामीकहाँ पुग्यो,’ उनले भने, ‘हामीले यहाँ संचालित सबै लघुवित्तलाई पत्र काट्दै कर्जा प्रवाह बन्द गर्न भनेका छौँ।’
वित्तीय संस्थाले गरेको लगानीको ठाउँ एकिन नभएको र उद्देश्यविपरीत लगानी गरेको भेटिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले लघु वित्तीय संस्थाहरूलाई लगानीको क्षेत्रगत लाभग्राहीहरूको विवरणसहित ७ दिनभित्र पालिकाको कार्यालयमा उपस्थित हुन भनेको छ। यसका साथै सो अवधिसम्म कर्जा प्रवाह बन्द गर्न पत्रमा उल्लेख गरिएको छ।