डडेल्धुराः सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा.ताराप्रसाद जोशी र सरस्वती खड्काले डडेल्धुराका कार्यालय प्रमुखसँग अन्तरक्रिया गरेका छन्। आइतबार जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरूसँग डडेल्धुराका प्रदेशसभा–२ बाट निर्वाचित सांसद जोशी र समानुपातिक सांसद खड्काले अन्तरक्रिया गरेका हुन्।
कार्यालय प्रमुखहरूले आफ्नो कार्यालयले गरिरहेका काम, समस्या र चुनौतीका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए। कार्यालय प्रमुखहरूले विषेश गरेर बजेट अभाव, कर्मचारी अभाव, प्रदेश सरकारसँग समन्वयको कमिलगायतका समस्या पोखेका थिए।
घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका केशवसिंह भण्डारीले बजेट अभाव, नागरिक बडापत्र नभएको, सवारीसाधनको अभाव, कार्यालय जीर्ण, कर्मचारीलाई तालिमको अभावलगायतका समस्या रहेको बताए।
यसका साथै उनले डडेल्धुरामा फर्निचर उद्योग, मसला उद्योगको सम्भावना रहेको औंल्याए। आलिताललाई मौरीपालनको हब बनाउन सकिने उनको भनाइ थियो।
कृषि क्षेत्रमा बन्यजन्तुको समस्या समाधान चुनौतीपूर्ण रहेको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले बताए। कृषिजन्य उद्योग स्थापना गर्न सके सुदूरपश्चिमको बेरोजगारी हट्ने उनको तर्क थियो। किसानहरूले बन्यजन्तुका कारण खेती लगाउन छाडेका र त्यसका लागि समाधान खोजिनुपर्ने उनले औंल्याए।
उनले कृषि क्षेत्रमा बढी बजेट छुट्याउनका लागि पहल गर्न प्रदेशभा सदस्यसँग आग्रह गरे। जिल्लामा ६५ हेक्टरमा सिचाइ विस्तार गर्ने लक्ष्य रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना डडेल्धुराले जनाएको छ। आर्थिक अभावका कारण एसईईको प्रश्न पत्र ढुवानीमा समस्या हुने गरेको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नारदप्रसाद जोशीले बताए।
कार्यक्रममा स्वास्थ्य कार्यालयले जिल्लामा ५ वटा बर्थिङ सेन्टर बनाउने तयारीमा रहेको जनायो। जोगबुडा अस्पतालका लागि एउटा एम्बुलेन्स खरिद प्रक्रियामा रहेको बताइएको छ। जिल्लाका १ लाख २५ हजारले कोभिडको पूर्ण खोप लगाइसकेको र ४८ प्रतिशतले बुस्टर डोज लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ। माथिबाट तोकेर कार्यक्रम आउने परिपाटीले पनि समस्या सिर्जना गर्ने गरेको कार्यालय प्रमुखहरूको गुनासो थियो।
प्रदेशसभा सदस्य जोशीले कार्यालय प्रमुखले पोखेका समस्या समानधान गर्नका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन्। उनले अहिलेका कार्मचारीहरू सक्षम र माथिल्लो निकायसँग राम्रो तयारीले समन्वय गर्न सक्ने क्षमता भएको बताए।
प्रदेशसभा सदस्य जोशीले युवा पुस्ताहरूलाई विश्वासमा लिँदै अब समाजमा विकास निर्माण कसरी गर्न सकिन्छ यसबारेमा सोच्नुपर्ने औंल्याए। उनले जिल्लामा विमानस्थल, मेडिकल कलेज, उद्योगहरू संचालनमा ल्याउन सके केहीहदसम्म बेरोजगारी समस्या समाधान हुने र त्यसका लागि आफूहरूले पहल गर्नेप्रतिबद्धतासमेत जनाए।
प्रदेशसभा सदस्य खड्काले जिल्लाको विकास निर्माणका लागि सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने बताइन्। यहाँको समग्र विकासका लागि आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाइन्। उनले त्यसका लागि सबै पक्षको समन्वय र सहकार्यको खाँचो रहेको पनि औंल्याइन्।