डडेल्धुराः डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले सरकारी सेवालाई जनमैत्री बनाउने बताएका छन्।
सरुवा भएर सोमबार जिल्ला पुगेका सिडिओ न्यौपानेले बुधबार आयोजित सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा आफ्नो पहिलो प्राथमिकता सेवा प्रवाहलाई चुस्त बनाउन रहेको बताएका हुन्।
‘यहाँका सरकारी कार्यालयबाट प्रदान हुने सेवालाई जनमैत्री बनाउँछौं। हामीले टाइम कार्ड पनि लागू गरिसकेका छौँ,’ उनले भने, ‘मेरो पहिलो प्राथमिकता यहाँको सेवा प्रवाहलाई चुस्त बनाउने हो। म त्यसमा काम गर्छु।’
उनले यहाँ भइरहेका विकास निर्माणका कार्यमा समन्वय सहजीकरण गर्ने बताए। यसका साथै उनले समयमै गुणस्तरीय काम सम्पन्न गर्नका लागि पहल थाल्ने बताए। भ्रष्टाचारमा शून्य सहनशीलता र जिल्लाको सुशासनका पक्षमा पनि आफूले काम गर्ने उनले प्रतिबद्धता जनाए।
‘यहाँ हुने विकास निर्माणका कार्यमा हाम्रो ध्यान जानेछ। काम ढिलो भइरहेको छ भने त्यसलाई समयमै गर्न भन्छौँ,’ उनले भने,‘यदि काम कसैले पनि ढिलासुस्ती गरेका पाइएमा कारबाहीसमेत गर्छौं।’
जिल्लाको शान्ति सुरक्षा कायम गराउनमा पनि आफ्नो योजना रहेको उनको भनाइ थियो। जिल्लामा आत्महत्याका घटना बढेको देखिएको र त्यसको न्यूनीकरणका लागि आफू कटिबद्ध भएर लाग्ने उनले बताए। यसका साथै सिडिओ न्यौपानेले आत्महत्याका घटना न्यूनीकरणका लागि सञ्चारमाध्यमले पनि सचेतनामूलक सन्देश प्रकाशन तथा प्रसारण गरिदिनुपर्ने औंल्याएका छन्।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले प्रजिअ न्यौपानलाई सूचनामैत्री भईदिन आग्रह गरेका थिए। उनले आफू र जिल्लास्थित कार्यालयका सूचना अधिकारीलाई सूचनामैत्री बनाउने प्रतिबद्धता जनाएका छन्। डडेल्धुराका तत्कालीन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको सरुवा भएपछि गृह मन्त्रालयबाट न्यौपाने यहाँ आएका हुन्।