Radio Unity 92.2MHz

डडेल्धुरामा दोस्रो ‘अमरगढी हाफ म्याराथन’ हुने

  • लक्ष्मीकुमारी भट्ट

डडेल्धुरा: डडेल्धुरामा दोस्रो ‘अमरगढी हाफ म्याराथन’ दौड प्रतियोगिता आयोजना हुने भएको छ।

रणबम गण, दह व्यारेक डडेल्धुराको आयोजनामा फागुन ६ गते दोस्रो संस्करणको अमरगढी हाफ म्याराथन हुने भएको हो। रणबम गणले बुधबार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी हाफ म्याराथन दौड प्रतियोगिताको आयोजनाबारेमा जानकारी गराएको हो।

महाशिवरात्रि र सेना दिवसका अवसरमा ‘अमरगढी किल्ला संरक्षण तथा सम्बद्र्धन’ भन्ने नारासहित हाफ म्याराथन आयोजना गरिएको रणबम गणका प्रमुख सेनानी बालमुकुन्द थापाले जानकारी दिए।

ऐतिहासिक अमरगढी किल्ला संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले हाफ म्याराथन गर्न लागिएको उनले बताए। उनका अनुसार अमरगढी नगरपालिका, किल्ला विकास समिति र जिल्ला खेलकुद विकास समितिसँगको सहकार्यमा उक्त प्रतियोगिता आयोजना गरिन लागिएको हो।

‘२६०औँ सेना दिवसका अवसरमा दोस्रो संस्करणको हाफ म्याराथन गर्न लागेका छौं। पुरुष/महिला २१ किलोमिटर म्याराथन हुनेछ,’ पत्रकार सम्मेलनमा थापाले भने, ‘दौड बिहान ७ बजेदेखि सुरु हुनेछ। हामीले म्याराथनमा २५० जना जतिले सहभागीता जनाउने अपेक्षा गरेका छौँ।’

यसका साथै प्रमुख अतिथि तथा जिल्लाका आमन्त्रित जिल्लाका उच्चपदस्थ व्यक्तिहरूका लागि ८ किलोमिटरको वाकाथन पनि आयोजना गरिएको गणका प्रमुख सेनानी थापाले बताए।

उनका अनुसार प्रतियोगिताका लागि फाराम दर्ता निःशुल्क गरिएको छ। प्रतियोगीहरूले माघ २० गतेदेखि माघ २९ गतेसम्म फाराम भरिसक्नुपर्ने उनले बताए। ‘सहभागी हुने इच्छुक व्यक्तिले रणबम गण, दह व्यारेक र जिल्ला प्रहरी कार्यालय, डडेल्धुरामा फाराम भर्नको लागि व्यवस्था मिलाइएको छ,’ प्रमुख सेनानी थापाले भने, ‘गतवर्षको भन्दा यसवर्ष धेरैभन्दा धेरै व्यक्ति समावेश गराई भव्य रूपमा संचालन गर्ने योजना बनाएका छौँ।’

प्रतियोगितामा प्रथमदेखि दशौँ स्थानसम्मका लागि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। पुरस्कार राशि भने केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...