Radio Unity 92.2MHz

दुर्गा माविले जित्यो आलिताल गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड

डडेल्धुराः आलिताल गाउँपालिका–८ डोलामा रहेको दुर्गा मावि, डोलाले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड २०७९ को उपाधि जितेको छ। आइतबार सम्पन्न आलिताल गाउँपालिकास्तरीय शिल्डमा प्रथम स्थान हासिल गर्दै दुर्गा माविले शिल्डमाथि कब्जा जमाएको हो।

१८ स्वर्ण, ६ रजत र ६ कास्य पदक प्राप्त गरेको विद्यालयले ३० पदकसहित प्रथम स्थान हासिल गरेको हो। आलिताल गाउँपालिका–१ को भुवनेश्वरी मावि दोस्रो भएको छ। उसले ५ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको छ। प्रतियोगितामा तेस्रो भएको सिद्ध भवगती मावि दोबाटाले ५ स्वर्ण, २ रजत र ५ कास्य पदक हात पारेको छ।

कृष्ण कालिका मावि घरेलुले सान्त्वना स्थान हासिल गरेको छ। उसले ४ स्वर्ण, ८ रजत र ११ कास्य पदक जितेको खेल संचालन समितिका सदस्य सचिव इन्द्रबहादुर साउँदले जानकारी दिए। गाउँपालिका अध्यक्ष शेरसिंह पार्की र उपाध्यक्ष मैनाकुमारी रावलले दुर्गा माविलाई शिल्ड हस्तान्त्रण गरे। प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुने खेलाडीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने गाउँपालिका अध्यक्ष पार्कीले बताए।  ‘हामीले गाउँपालिकामा रहेका खेलाडीको प्रतिभा पहिचान र क्षमता अभिवृद्धिका लागि यो प्रतियोगिता सञ्चालन गरेका हौं,’ उनले भने, ‘प्रतियोगितालाई सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद छ।’

उनले आगामी दिनमा पनि यस्ता किसिमका प्रतियोगिताहरू आयोजना गर्दै खेलाडी उत्पादनमा गाउँपालिका तल्लीन भएर अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाए।

आलिताल गाउँपालिकाको आयोजना तथा दुर्गा माविको व्यवस्थापनमा शुक्रबारदेखि पालिकास्तरीय प्रतियोगितामा पालिकाका ९ वटा विद्यालयको सहभागिता रहेको थियो। भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते र उसुमा गरी पाँच सय खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए।

सम्बन्धित पाेष्टहरु
Loading...