डडेल्धुराः डडेल्धुराको नवदुर्गा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। शुक्रबारदेखि नवदुर्गा गाउँपालिका–१ कोटेलीस्थित चोरा खेल मेदानमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।
गाउँपालिकास्तारी रनिङ शिल्डको शुक्रबार गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले उद्घाटन गरे। गाउँपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा ७ वटा मावि विद्यालयको सहभागिता रहेको गाउँपालिका नायब सुब्बा पुष्पराज जोशीले जानकारी दिए।
उनका अनुसार छात्र–छात्रा भलिबल, कबड्डी, एथलेटिक्समा गरी २ सय ५४ खेलाडी सहभागी छन्। शनिबारसम्म संचालन हुने पालिकास्तरीय उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ।