- प्रकाश पार्की
डडेल्धुरा: जिल्ला सदरमुकाममा जारी ‘सुदूरपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन कला संस्कृति खेलकुद तथा औद्योगिक व्यापार मेला एवं पाँचौं डडेल्धुरा महोत्सव’ले दर्शकको साथ पाएको छ।
पाँचौं डडेल्धुरा महोत्सवमा मंगलबार पनि दर्शकको सहभागिता उत्साहपूर्ण रहेको थियो। डडेल्धुरा उद्योग वाणिज्य संघले सांस्कृतिक कार्यक्रमसँगै महोत्सवमा भलिबल प्रतियोगितासमेत आयोजना गरेकाले दर्शक संख्या बढिरहेको छ। जिल्ला स्तरीय भलिबल बिहान ९ बजेदेखि १ बजेसम्म संचालन भइहेको छ।
मंगलबार सार्वजनिक बिदा पनि भएकाले दर्शकको उत्साहपूर्ण सहभागिता थियो। मंगलबार लोकदोहरी गायक खुमन अधिकारी, देउडा गायक महेशकुमार औजी, गायक रमेश मल्ल, कालकार प्रियांका कँवरलगायतले प्रस्तुति दिएका छन्।
गायक खुमन, महेशकुमार र रमेश मल्लले डडेल्धुरेली दर्शकलाई नचाएका थिए। भोलि बुधबार लोकदोहरी गायक रामजी खाँण, देउडा गायक लालबहादुर धामी (अछामी बड्डो), मोडेल दुर्गा भट्टलगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।
फागुन ४ गतेदेखि ‘कृषि, पर्यटन, उद्योग र व्यापार : समृद्ध डडेल्धुराको आधार’ भन्ने मुल नारासहित अमरगढी नगरपालिका–४ टुँडिखेलमा सुरु भएको महोत्सवमा छैटौं दिन पनि कलाकारहरूले आफ्नो प्रस्तुति राखेका हुन् ।
महोत्सवमा दिनप्रतिदिन दर्शकको संख्या बढिरहेको उद्योग वाणिज्यका अध्यक्ष द्विजराज भट्टले बताए। उनका अनुसार महाशिवरात्रिको एकैदिन पाँच लाखको टिकट बिक्री भएको थियो।
मोडेल प्रियांकाले नृत्य देखाएकी थिइन्। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै रमाइलो मेला पनि रहेको छ। झण्डै १ सय ५० व्यापारिक स्टल पनि राखिएका छन् ।
महोत्सवमा सर्वसाधारणका लागि ७५ विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। महोत्सव बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। महोत्सव फागुन १४ गतेसम्म संचालन हुनेछ।
हेर्नुस् छैटौं दिनका बाँकी तस्वीरहरू :