डडेल्धुराः सुदूरपश्चिम प्रदेशसभाका सदस्य डा.ताराप्रसाद जोशीले डडेल्धुरास्थित कृषि सम्बद्ध कार्यालयका प्रमुखसँग अन्तरक्रिया गरेका छन्। डडेल्धुराका प्रदेशसभा–२ बाट निर्वाचित सांसद जोशीले बुधबार जिल्लामा कृषिको अवस्था बारे अन्तरक्रिया गरेका हुन्।
कार्यालय प्रमुखहरूले आफ्नो कार्यालयले गरिरहेका काम, समस्या र चुनौतीका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए। उनीहरूले विज्ञ प्राविधिक नहुँदा काम कारबाही गर्न समस्या भइरहेको बताएका थिए। कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख रामचन्द्र भट्टले सिँचाइ सुविधाको अभावले कृषकलाई समस्या भइरहेको बताए। आफ्नो कार्यालयसँग चाररपाँच लाखको सिँचाइ योजनाको लागि पैसा हुने तर त्यो प्रयाप्त नभएको उनको भनाइ छ।
यस वर्ष पानी नपरेको कारण ४० प्रतिशत गहुँको उत्पादन घट्ने उनले जानकारी दिए। ‘जिल्लामा सिँचाइ कार्यालय पनि छ। कृषि र सिँचाइ कार्यालयले समन्वय गर्नु पर्नेमा समन्वय नहुँदा समस्या छ,’ उनले भने।
जिल्लाका चार स्थानीय तह अमरगढी नगरपालिका अजयमेरु, आलिताल र गन्यापधुरामा किवी खेती राम्रो हुने भएपनि भण्डारणमा समस्या हुने गरेको उनी बताउँछन्। चिसोमा फल्ने किवी बैशाखरजेठमा खान उपयुक्त हुने हुँदा भण्डारण गर्न कोल्ड स्टोरका लागि पहल गर्न उनले जोशीलाई आग्रह गरे।
भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख देवेराज भट्टले कुखुरा र खसीको मासुमा डडेल्धुरा आत्मनिर्भर रहेको जानकारी दिए। उनले कुखुरा र बाख्राको बिमामा समस्या भइरहेकोले त्यसतर्फ सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन जोशीलाई आग्रह गरे।
आलु सुपरजोन डडेल्धुराका शितल भट्टले आलु उत्पादनको क्षेत्र विस्तार भइरहेको जानकारी दिए। तर, बीमा गरेका कृषकले क्षतिपूर्ति पाउन समस्या भइरहेको बताए। डडेल्धुरामा आलु र भटमास तथा डोटीका तीन स्थानीय तह जोरायल बडिकेदार र बोकटान गाउँपालिकामा सुन्तला र अदुवाको क्षेत्रमा पनि काम गरिरहेको बताए।