डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान सम्पन्न भएको छ। आइतबार बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराह्न ४ बजेसम्म शान्तिपूर्ण रूपमा सकिएको हो।
७ सय ९८ मतदाता रहेको क्याम्पसमा प्रत्यक्षतर्फ ५ सय २३ मत र समानुपातिकतर्फ ५ सय १८ मत खसेको निर्वाचन अधिकृत भुवनेश्वर पनेरूले जानकारी दिए । उनका अनुसार मतगणना पनि आइतबार नै गर्ने तयारी भइरहेको छ। चार/पाँच घन्टाभित्र अन्तिम नतिजा घोषणा गर्ने गरी मतगणना तयारी भइरहेको निर्वाचन अधिकृत पनेरूले बताए।
डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका लागि तीन प्यानल चुनावी मैदानमा छन्। क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) एक्लै चुनावी मैदानमा होमिएको छ भने अखिल (कान्तिकारी), अखिल छैठौं र नेपाल विद्यार्थी संघ (बीपी) प्यानलसहित चुनावी मैदानमा रहेका छन्।
नेविसंघबाट सभापतिमा दुर्गाप्रसाद भट्ट, संयुक्त प्यानलको तर्फबाट सभापतिमा नेपाल विद्यार्थी संघ (बीपी)का मदनबहादुर बोहरा र अनेरास्ववियुबाट गणेशबहादुर क्षेत्री प्यानलसहित चुनावी मैदानमा रहेका हुन्।