Radio Unity 92.2MHz

डडेल्धुराको जनसंख्या घट्यो, कुन पालिकामा कति ? [सूचीसहित]

  • प्रकाश पार्की

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको जनसंख्या घटेको छ। केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार डडेल्धुराको जनसंख्या घटेको हो।

पाँच गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको जनसंख्या २ हजार ४ सय ९२ जनाले घटेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। २०६८ को जनगणनाअनुसार जिल्लाको जनसंख्या १ लाख ४२ हजार ९४ जना रहेको थियो।

पछिल्लो १० वर्षको अवधिमा घटेर अहिले १ लाख ३९ हजार ६ सय २ पुगेको छ । जसमा महिला ७३ हजार ७ सय ९ र पुरुष ६५ हजार ८ सय ९३ जना रहेका छन्। जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ। जनसंख्या वृद्धिदर माइनस ०.१७ प्रतिशत रहेको छ।

डडेल्धुराको साक्षरता दर ६८.१९ प्रतिशत छ। २०७८ को तथ्यांकअनुसार यहाँ पाँच गाउँपालिकाको जनसंख्या घटेको देखिन्छ भने २ नगरपालिकाको जनसंख्या बढेको छ। जिल्ला सदरमुकाको अमरगढी नगरपालिकाको जनसंख्या बढेको छ।

यहाँको जनसंख्या १.२३ प्रतिशतले वृद्धि भएको छ। २०६८ को जनगणनाअनुसार २१ हजार २४५ जना रहेको ०७८ मा उक्त संख्या २ हजार ९०४ ले बढेर २४ हजार १४९ पुगेको छ।

भित्रीमधेशमा पर्ने परशुराम नगरपालिकाको जनसंख्या पनि वृद्धि भएको छ। परशुरामको जनसंख्या ६ सय ७ जनाले बढेको छ। २०६८ मा ३४ हजार ९८३ जना रहेको नगरपालिकामा ०७८ मा उक्त संख्या बढेर ३५ हजार ५९० पुगेको छ। यहाँका जनसंख्या वृद्धिदर ०.१७ प्रतिशत रहेको छ।

अजयमेरु गाउँपालिकाको जनसंख्या वृद्धिदर माइनस १.१४ प्रतिशतले घटेको छ। २०६८ मा १७ हजार ६६ जना रहेको अजयमेरुमा ०७८ मा उक्त संख्या घटेर १५ हजार १६१ पुगेको छ। यहाँको जनसंख्या १ हजार ९०५ ले घटेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।

यस्तै, गन्यापधुरा गाउँपालिकाको जनसंख्या पनि घटेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार गन्यापधुराको जनसंख्या १३ हजार ७ सय २२ जना रहेको छ। यसअघि २०६८ मा यहाँका जनसंख्या १५ हजार ९३ रहेको छ। गन्यापधुराको जनसंख्या १० वर्षमा १ हजार ३७१ अर्थात् माइनस ०.९० प्रतिशतले घटेको छ।

भागेश्वर गाउँपालिकाको जनसंख्या पनि माइनस ०.७० प्रतिशतले घटेको छ। २०६८ मा १४ हजार १२९ जना रहेको भागेश्वरमा ०७८ मा उक्त संख्या घटेर १३ हजार १३२ पुगेको छ । यहाँको जनसंख्या ९ सय ९७ ले घटेको हो। यसैगरी नवदुर्गा गाउँपालिकाको जनसंख्या पनि माइनस ०.६४ प्रतिशतले घटेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नवदुर्गाको जनसंख्या १८ हजार ६ सय ७२ जना रहेको छ।

०६८ मा यहाँको कूल जनसंख्या १९ हजार ९ सय ५७ थियो । नवदुर्गाको जनसंख्या १ हजार २८५ जनाले घटेको हो। भित्रीमधेशमा पर्ने आलिताल गाउँपालिकाको जनसंख्या पनि ४ सय १९ अर्थात् माइनस ०.२२ प्रतिशतले घटेको छ। २०६८ मा १८ हजार ५३१ रहेकोमा १० वर्षमा घटेर यहाँको जनसंख्या अहिले १८ हजार ११२ पुगेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...