डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षर्थीहरूलाई निःशुल्क खाना खुवाउने भएको छ। पालिकाको दुर्गम ठाउँबाट आएका परीक्षार्थीहरूलाई पालिका सरकारले निःशुल्क खानाको व्यवस्था गरिएको हो।
शुक्रबारबाट सुरु भएको परीक्षामा आलितालबाट तीन सय १६ जना परीक्षार्थी छन्। आलिताल गाउँपालिकाका एसईई परीक्षाका लागि २ वटा केन्द्र तोकिएका छन्। जसमा आलिताल गाउँपालिका–८ डोलास्थित दुर्गा मावि र आलिताल–४ घरेलुमा रहेको कृष्ण कालिका मावि छन्।
पालिका सदरमुकामबाट दुर्गममा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परीक्षार्थीहरूका लागि निःशुल्क खानाको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले जानकारी दिए।
उनका अनुसार टाढाबाट आउने विद्यार्थीको खर्चलाई मध्यनजर गर्दै निःशुल्क खानाको व्यावस्था गरिएको हो। भुवनेश्वरी र उणिकोट माविका परीक्षार्थीहरूले कृष्ण कालिका माविबाट परीक्षा दिइरहेका छन्। यसअघि उक्त क्षेत्रका विद्यार्थीहरु पालिकामा परीक्षा केन्द्र एउटै भएका कारण पालिकाभन्दा बाहिर डडेल्धुरा सदरमुकामबाट परीक्षा दिने गरेका थिए।