Radio Unity 92.2MHz

७२ जना शिक्षकलाई स्थायी नियुक्ति, विद्यालयमा खटाइयो

डडेल्धुरा :  डडेल्धुराबाट शिक्षक सेवा आयोगको प्राथमिक तह, तृतीय श्रेणिमा नाम निकाल्न सफल भएका शिक्षकहरूलाई स्थायी नियुक्ति पत्र दिइएको छ।

सोमबार शिक्षा विकास तथा समुन्वय इकाइ डडेल्धुराले एक कार्यक्रमकाबीच स्थायी नियुक्ति पत्रसहित डडेल्धुराबाट प्रावि तह, तृतीय श्रेणिमा नाम निकाल्न सफल ७२ जना शिक्षकलाई विद्यालयमा खटाएको हो।

शिक्षक सेवा आयोगको प्राथमिक तहमा नाम निकाल्न सफल भएका सबै शिक्षकलाई स्थायी नियुक्ति पत्रसहित जिल्लाका सात वटै स्थानीय तहका विद्यालयमा खटाइएको शिक्षा विकास तथा समुन्वय इकाइ डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए।

प्राथमिक तहमा अध्यापन गराउने शिक्षकले बालबालिकालाई पढाउने भएकोले निकै सक्रिय भएर खटिनु पर्नेमा उनले जोड दिए।

बालबालिका ‘गहुँको पिठो’ जस्तै भएको भन्दै उनले रोटी, पुरी, सेल, हलुवा के बनाउने भन्नेमा शिक्षकमा भर पर्ने बताए।

नेपाल शिक्षक संघका अध्यक्ष हेमराज ओझाले आफ्नो पेसामा कटिबद्ध भएर लाग्न आग्रह गरे। बाह्य मुलुकमा शिक्षकलाई हेर्ने दृष्टिकोण राम्रो रहेकोमा नेपालमा त्यस्तो हुन नसकेको भन्दै दुखेसो व्यक्त गरे।

उनले शिक्षक पेसामा राम्रो गर्नेहरूको आफू सधै साथमा रहेको समेत जिकिर गरे।

उनले संस्थागत विद्यालय कमाइ खाने मेसो मात्रै बनेकोले सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउन ध्यान दिनु पर्ने बताए।

यसैबीच, डडेल्धुरा प्रदेश ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशीले प्राथमिक तह, तृतीय श्रेणिमा नाम निकाल्न सफल भएकाहरूलाई बधाई पत्र दिएका छन्।

उन्नती, प्रगतिसँगै शिक्षा क्षेत्रको आमुल परिवर्तनका लागि अतुलनिय योगदान रहने विश्वासका साथ बधाई पत्र दिइएको जोशीका स्वकीय सचिव सुरेन्द्र मल्लले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।