डडेल्धुरा: महालक्ष्मी विकास बैंक लिमिटेड डडेल्धुरा शाखाले अमरगढी नगरपालीका–८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमलाई खाद्यान्य सामग्री हस्तान्तरण गरेको छ।
सामाजिक उत्तरदायित्व कायक्रमअन्तर्गत बैंकले विद्याश्रमलाई खाद्यान्य सामग्री हस्तान्तरण गरेको हो। ‘सबल बैंक, सफल सहकार्य’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै बैंकले विद्याश्रमका बटुकहरूलाई खानपानमा सहज होस भन्ने हेतुले १० बोरा चामल, २ कार्टुन खाने तेल, २० केजी आयो नुन, २० केजी दाल हस्तान्तरण गरेको छ।
शाखा प्रबन्धक चेतराज पाण्डेयले बैंकको विभिन्न क्रियाकलापका बारेमा उक्त कार्यक्रममा प्रकाश पार्नुका साथै आगामी दिनमा पनि सामाजिम उत्तरदायित्व कायक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्दै जाने बताए। उक्त हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य प्रेमराज भट्ट, शिक्षक, विद्यार्थी, पत्रकार तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो।
प्राचार्य भट्टले सहयोग गरेकामा बैंक परिवारलाई धन्यावद व्यक्त गरे । बैंकले नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि नेपालभर १०३ शाखा तथा ४६ वटा एटीएम मार्फत लगभग ६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आइरहेको छ।