डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा सम्पन्न ‘वडास्तरीय प्रथम अध्यक्ष कप पुरुष भेट्रान्स मैत्रीपूर्ण भलिबल’ प्रतियोगिताको उपाधि वडा नम्बर १० ले जितेको छ।
शनिबार भएको फाइनल खेलमा वडा नम्बर ९ लाई हराउँदै १० ले उपाधि जितेको हो। वडा नम्बर ९ दोस्रो र वडा नम्बर ८ तेस्रो भएको छ। पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।
वडा नम्बर १० को आयोजनामा नयाँ वर्ष २०८० को अवसरमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको हो। समापन कार्यक्रममा नगरप्रमुख डिल्लीराज जोशीले खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
वडाध्यक्ष खेमराज भट्टले प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गरे। प्रतियोगितामा १० वटा वडाको सहभागिता रहेको थियो। शुक्रबारदेखि सुरु भएको प्रतियोगिता शनिबार सकिएको हो।