Radio Unity 92.2MHz

गन्यापधुराका किसानलाई तरकारीको बीउ वितरण

डडेल्धुरा: डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का किसानहरूलाई तरकारीको बीउ वितरण गरिएको छ। गन्यापधुरा–१ भात्काँडामा रहेको असिग्राम कृषक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले किसानहरूलाई तरकारीको बीउ वितरण गरिएको हो।

मंगलबार सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशीको प्रमुख आथित्यतामा ५० प्रतिशत अनुदानमा तरकारीको बीउ वितरण गरिएको सहकारी संचालक समितिका अध्यक्ष दत्तराज अवस्थीले जानकारी दिए।

उनका अनुसार कृषि विकास निर्देशनालय दिपायल, डोटीको ५० प्रतिशत अनुदानमा किसानहरूलाई बन्दा, काउली, रायो र मुलाको बीउ वितरण गरिएको हो।

कृषि निर्देशनालयको २ लाख ४९ हजार २२० र सहकारी संस्थाको २ लाख ४४ हजार २२० गरी कुल ४ लाख ९३ हजार ४ सय ४० रुयैयाँ बराबरको बीउ १ सय ७० जना किसानलाई बाँडिएको अध्यक्ष अवस्थीले बताए।

भात्काँडा क्षेत्रका किसानले लामो समयदेखि तरकारी खेती गर्दै आइरहेका छन्। किसानहरूले प्रदेशसभा सदस्य जोशीसामु आफ्ना समस्याहरूसमेत पोखे। कोल्ड स्टोरको अभाव रहेको अध्यक्ष अवस्थीले बताए। किसानका वास्तविक समस्या सरकार र सम्बन्धित निकायहरूले बुझ्न नसकेको उनीहरूको आरोप थियो।

सांसद जोशीले किसानका समस्याहरूका बारेमा प्रदेशसभामा जानकारी गराएको र आगामी दिनमा पनि कृषकका मुद्दा उठाउने बताए। उनले किसानहरूलाई २५/३० लाखसम्मको योजना बनाएर आएमा आफूले प्रदेश सरकार र सम्बन्धित क्षेत्रबाट बजेटको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता जनाए। यसका साथै उनले व्यावसायिक रूपमै कृषि क्षेत्रमा लाग्न आग्रह गरे।

उनले कोल्ड स्टोर स्थापनाका लागि आफूले सक्दो पहल थाल्ने बताए। कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्ट, गाउँपालिका–१ का वडाध्यक्ष नरेशराज भण्डारीलगायतको उपस्थिति रहेको थियो।

 

सम्बन्धित पाेष्टहरु
Loading...