Radio Unity 92.2MHz

डडेल्धुराको परशुराममा चितुवाको आतंक, घरमै आएर खान्छ बाख्रा

डडेल्धुरा: डडेल्धुराको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिका–७ का विभिन्न गाउँमा चितुवाले आंतक मच्चाएको छ। केही दिनयता परशुराम–७ का घुम्टेगाडा, साँदनी, लामीगाडालगायतका बस्तीहरूमा चितुवा आतंक बढेको हो ।

साँझ परेपछि यी गाउँका विभिन्न ठाउँमा चितुवा देखिने गरेको छ। चितुवाले घरमै आएर बाख्रा खान थालेपछि किसानहरू चिन्तित बनेका छन्। चितुवाले बाख्रासहित गाई, गोरुलगायतका जनावर खान थालेको घुम्टेगाडाका स्थानीय मोहनबहादुर सिंहले जानकारी दिए।

चितुवाका कारण स्थानीयले निकै नोक्सानी व्यहोर्नुपरेको उनले बताए। चितुवाले दैनिक घरपालुवा जनावर गोठबाटै लगेर खान थालेपछि त्यहाँका स्थानीयहरू निकै चिन्तित भएका छन्।

गाउँनजिकैको सामुदायिक वनबाट राति आउने चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ। एक साता यता चितुवाले स्थानीयवासीको गोठमा बाँधेका एक दर्जनभन्दा बढी बाख्रा खाएको स्थानीय नरेन्द्रबहादुर साउँदले बताए।

उनका अनुसार चितुवाले जंगल चराउन लागेका बाख्राहरूसमेत खान थालेको छ। चितुवालाई नियन्त्रण नगरे मानवीय क्षतिसमेत निम्त्याउन सक्ने भन्दै स्थानीयहरू त्रसित बनेका छन्।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।