Radio Unity 92.2MHz

डडेल्धुराको उग्रतारामा ‘लिफ्ट प्रविधि’ को प्रयोग गरेर पानी तानिँदै

  • प्रकाश पार्की

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा मन्दिरमा ‘लिफ्ट प्रविधि’ को प्रयोग गरेर पानी तानिँदै छ। अमरगढी नगरपालिलका–८ मा रहेको डौउडा खोलाको पानी लिफ्ट प्रविधिबाट उग्रतारा मन्दिरमा पुर्‍याउन लागिएको हो।

डडेल्धुरा खानेपानी आयोजनाअन्तर्गत लिफ्ट प्रविधिको प्रयोग गरेर लटाउली, खनमडा र टाँटरलगायतका बस्तीमा पानी पुर्‍याइने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ। आयोजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर धिरज ऐरले जानकारी दिए।

उनका अनुसार आयोजना सम्पन्न गर्नका लागि कूल लागत अनुमान ३ करोड ५ लाख ३७ हजार रहेको छ । हालसम्म १ करोड ३ लाख बराबरको काम सकिएको इन्जिनियर ऐरले बताए। ‘सोलार सिस्टमको प्रयोग गर्दै लिफ्ट प्रविधिबाट पानी तानिँदैछ। यस आयोजनाबाट १ सय ६८ घरपरिवार लाभान्वित हुनेछन्,’ इन्जिनियर ऐरले भने, ‘यो आयोजना २०७५/०७६ देखि सुरु भएको हो। सशर्त अनुदानको बजेटबाट यो खानेपानी आयोजनाको काम भइरहेको छ।’

डौउडा खोला मुहान नजिकै ९० वटा र दोस्रो ट्याङ्की बनिरहेको सिमलीमा ६८ वटा सोलार पाता राखिएको इन्जिनियर ऐरले जानकारी दिए। ५० हजार लिटरका २ वटा ट्याङ्की बनिसकेका छन् भने ५० हजार लिटरकै एक ट्याङ्की निमार्णाधीन अवस्थामा रहेको छ। मुहान डौउडा खोलामा र उग्रतारा मन्दिर नजिकै ट्याङ्की बनिसकेको इन्जिनियर ऐरले जानकारी दिए । सिमलीमा ट्याङ्की निमार्णाधीन अवस्थामा रहेको छ ।

‘मुहानदेखि सिमलीसम्मको भर्टिकल हाइट ३२३ मिटर रहेको छ । त्यहाँबाट उग्रतारासम्मको भर्टिकल हाइट ३४० छ,’ उनले भने, ‘मुहानदेखि उग्रतारासम्म करिब १ हजार ३ सय ७० मिटर पाइप लाग्छ।’

पहिलो ट्याङ्कीबाट दोस्रो ट्याङ्की बनिरहेको ठाउँ सिमलीसम्म पानी पुर्‍याइएको अमरगढी–८ वडाध्यक्ष नरबहादुर साँकीले बताए। उनले खानेपानीको हाहाकार हुने लटाउली, खनमडा र टाँटरमा आयोजनाको निर्माण सकिएपछि त्यो अन्त्य हुने बताए। खानेपानीको हाहाकार भएको ठाउँमा पानी बाँडिने उनको भनाइ छ ।

समयमै बजेट आएको खण्डमा आगामी आर्थिक २०८०/०८१ सम्ममा सबै काम सकेर पानी वितरण गर्ने तयारी रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर ऐरले जानकारी दिए।

खानेपानीको समस्या भोग्दै आएका स्थानीयहरू आयोजना निर्माणको अन्तिम चरणतिर पुगेपछि खुसी भएका छन्। लिफ्ट प्रविधिबाट पानी तानिएपछि आफ्नो क्षेत्रमा रहेको खानेपानीको समस्या हट्ने अमरगढी–८ खनमडाका स्थानीय कृष्णदत्त पाण्डेयले बताए। उग्रतारामा पानी पुगेपछि यहाँ मन्दिर आउने भक्तजनहरूलाई पनि सहज हुनेछ।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।