डडेल्धुराः डडेल्धुरामा विद्यार्थी भर्ना अभियानलाई तीव्र पारिएको छ। ‘समयमै भर्ना, समयमै ज्ञान : गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने नाराका साथ जिल्लामा शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना अभियानलाई तीव्र पारिएको हो।
सरकारले विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत रूपमा कार्यान्वय गर्न सबै स्थानीय तह र विद्यालयहरूलाई आग्रह गरेको छ। सोहीअनुरूप जिल्लामा विद्यार्थी भर्ना अभियानलाई तीव्रताका साथ अगाडि बढाइएको यहाँ विद्यालयहरूले जनाएका छन्।
यसैक्रममा सामाजिक विकास कार्यालय डडेल्धुराले विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनका लागि जिल्लास्तरीय अन्तरक्रिया गरेको छ। सामाजिक विकास कार्यालयले शुक्रबार जिल्ला सदरमुकाममा शिक्षासँग आवद्ध कार्यालयका प्रतिनिधि, शिक्षक र पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो।
विद्यालयको पहुँच बाहिर रहेका बालबालिकाहरूलाई विद्यालयसम्म पुर्याउनमा सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख प्रयागराज जोशील बताए। उनले सञ्चारमाध्यमको प्रयोग गर्दै विद्यार्थी भर्ना अभियानलाई थप तीव्रता दिने योजना आफूहरूको रहेको बताए।
भर्ना हुन आउने बालबालिकालाई तत्काल भर्ना गरी स्वागत गर्ने र निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने काम भइरहेको महेन्द्र मावि खलंगाका शिक्षक लक्ष्मीकान्त पनेरुले बताए। उनले शिक्षकहरूको समूह बनाएर पनि भर्ना अभियान जारी रहेको र महेन्द्र माविमा २५ प्रतिशत विद्यार्थी भर्ना भइसकेका बताए।
विद्यार्थी भर्ना अभियानलाई तीव्रताका साथ अगाडि बढाइरहेको वैजनाथ मावि मौरडाका प्रधानाध्यापक मोहनसिंह धामीले बताए। उनले ठाउँ–ठाउँमा विद्यार्थी भर्नासम्बन्धी पोस्टरहरूलाई टाँस्ने काम पनि भइरहेको बताए।
अमरगढी नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले विद्यार्थी भर्ना अभियान नगरपालिका क्षेत्रमा तीव्रताका साथ अघि बढिरहेको बताए। यहाँका सामुदायिक विद्यालयहरूलाई संस्थागत विद्यालयले चुनौती दिइरहेको पनि बताए।
ती चुनौतीहरू पार गर्दै भर्ना अभियानलाई सफल बनाउन आफूहरू लागिरहेको उनको भनाइ थियो। वैशाख ३ गतेदेखि सुरु भएको भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन हुनेछ। डडेल्धुरामा २ सय ५० सामुदायिक र ५१ संस्थागत विद्यालय रहेका छन्।