डडेल्धुराः डडेल्धुरामा एक बालिकाको शव चार दिनदेखि अस्पतालमै रहेको छ। जिल्लाको परशुराम नगरपालिका–८ गुप्तेगडाकी १४ वर्षीया संगिता धामीको शव जोगबुडा अस्पतालमै रहेको हो।
केही दिनअघि बिरामी परेकी उनलाई मंगलबार जोगबुढा अस्पताल पु¥याइएको थियो। तर, जोगबुढा अस्पतालमा उपचार सम्भव नभएको भन्दै उनलाई धनगढी रेफर गरिएकोमा बाटोमै मृत्यु भएको थियो।
मृतक धामीका आफन्तले अस्पतालले लापरबाही गरेका कारण बालिकाको ज्यान गएको भन्दै शवलाई जोगबुढा अस्पतालमा राखेर बिरोध जनाइरहेका छन्।
अस्पतालको लापरबाहीले धामीको ज्यान गएकोले सत्यतथ्य छानबिन हुनुपर्ने माग राख्दै शव नउठाएको स्थानीयको भनाइ छ।
जोगबुडा अस्पतालका डाक्टर जितेन्द्र चौधरीले धामीको झाडापखालाका कारण ज्यान गएको बताए। उनले भने, ‘धामीको शरिरमा पानीको मात्रा निकै कम भएको अवस्थामा थप उपचारका लागि धनगढी पठाउँदा मृत्यु भएको हो।’
इलाका प्रशासन कार्यालय जोगबुढाका प्रहरी निरीक्षक इन्सपेक्टर गंगादत्त बडुले धामीको शव २६ गते साँझदेखि जोगबुढा अस्पतालमै रहेको जानकारी दिए।
‘अस्पतालको लापरबाहीले मृत्यु भएको र सत्य तथ्य छानबिन गर्नु पर्ने उहाँहरूको माग छ। प्रहरी, जनप्रतिनिधि र प्रशासनका कर्मचारी बसेर सहमती जुटाइरहेका छौं,’ उनले भने।