डडेल्धुराः सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ।
अमरगढी नगरपालिका–८ मा रहेको मन्दिरमा चोरी भएको हो। गएराति साढे १ बजे चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको जनाइएको छ ।
चोरीको खबर प्राप्त भएपछि प्रहरी टोली पठाइएको उनले बताए। डीएसपी भट्ट पनि उग्रतारा मन्दिर पुगेका थिए। उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सार्कीले चाँदीका पूजाका सामान चोरी भएको बताए।
मन्दिरमा सीसी क्यामेरा पनि जडान गरिएको छ । सिसी क्यामेरा पूर्णरूपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ। उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ।
उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन। अमरगढी–८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ।