डडेल्धुराः आलिताल गाउँपालिकाले दुर्गम गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ। आलिताल गाउँपालिकाको–३ स्थित सेला गाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो।
स्वास्थ्य इकाईको सोमबार गाउँपालिका अध्यक्ष शेरसिंह पार्कीले एक कार्यक्रमकाबीच उद्घाटन गरे। उनले दुर्गमका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने अभियान स्वरूप सेलामा इकाई स्थापना गरिएको बताए।
‘स्वास्थ्य सेवाबाट कोही पनि नागरिक बञ्चित नहुन भन्ने उद्देश्यले इकाई स्थापना गरेका हौं,’ उनले भने, ‘गुणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिका तत्पर रहेको छ।’
दूरदराजका नागरिकले सामान्य उपचार गर्न पनि घन्टौं हिँडेर महँगो स्वास्थ्य सेवा लिनुपर्ने बाध्यातालाई इकाई स्थापनाले कही हदसम्म जनतालाई राहत मिल्ने अध्यक्ष पार्कीले बताए।
घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएको इकाईले स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका यहाँका सर्वसाधरणलाई राहत दिने वडा नम्बर ३ का वडाध्यक्ष बलबहादुर बूढामगरले बताए।
उनकाअनुसार स्वास्थ्य इकाईबाट नियमित स्वास्थ्य सेवा, आकस्मिक उपचार र प्रसूति सेवालगायतका सेवा प्रदान गरिनेछ। स्वास्थ्य इकाईमा गाउँपालिकाले एकजना स्वस्थ्यकर्मी (एचए) खटाएको छ।