Radio Unity 92.2MHz

डडेल्धुरा अस्पतालका अध्यक्ष सिंहद्वारा पदभार ग्रहण, सार्वजनिक गरे १५ बुँदे लक्ष्य र कार्ययोजना

डडेल्धुरा: डडेल्धुरा अस्पलताल विकास समितिका नवनियुक्त अध्यक्ष लक्ष्मण सिंहले पदभार ग्रहण गरेका छन्। अध्यक्ष सिंहले बुधबार पदभार ग्रहण गरेका हुन्।

 

अमरगढी नगरपालिका–५ भीमदत्त चोकरबाट स्थानीयहरुसँग भेटघाट गर्दै अस्पताल पुगेका उनलाई कर्मचारीले भव्य स्वागत गरेका थिए। उनले पदभार गर्नुअघि अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरणसमेत गरेका थिए।

अध्यक्ष सिंहले अस्पतालमा दरबन्दी अनुसारका विषेशज्ञ चिकित्सक तथा कर्मचारी ल्याउने प्रतिबद्धता व्यक्त गरे। उनले अस्पतालमा अनुशासनलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले सबैले आ–आफ्नो ड्युटी इमानदारीपूर्वक निभाउन अस्पताल चिकित्सक तथा कर्मचारीहरूलाई निर्देशन दिए।

‘ड्युटीका बेला बिना काम आफ्नो वाड छाडेर अर्काको वाडमा जानु भएन। मैले ड्युटी समयमा बाहिर आफ्नो मेडिकलमा काम गरेको देख्नु भएन,’ उनले निर्देशन दिँदै भने, ‘आफ्नो ड्युटीको समयमा मोबाइल चलाउनु पनि भएन। यदि त्यसो गरेको देखे कारबाही हुनेछ।’

अस्पतालमा आउने सबै बिरामी राम्रो व्यवहार गर्न र यहाँ कार्यरत स्वास्थ्यकर्मीले नामै तोकेर आफ्नो मेडिकलमा बिरामी पठाउने काम बन्द गर्न उनले कडा निर्देशन दिए। अस्पताललाई सफा राख्नसमेत सरसफाई कर्मचारीलाई उनको निर्देशन थियो।

‘मैले अस्पतालमा कतै फोहोर देख्न नपरोस्’ उनले निर्देशन दिँदै भने, ‘औषधि पसल तोकेर औषधि किन्न बाहिर पठाउने परिपाटीको अन्त्य होस््। औषधि लिन बाहिर पठाउँदा अस्पतालको बदनाम हुन्छ,’ यसका साथै उनले नेपाल सरकारले प्रदान गर्ने निःशुल्क औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाए। रिक्त रहेका चिकित्सक ल्याउने नसकेको खण्डमा पदबाटै राजीनामा गर्नेसमेत उनको भनाइ थियो।

अध्यक्ष सिंहले आफ्ना पुराना दुई कायाकालजस्तै यसपालि पनि अस्पतालको विकास र बिरामीको उपचारकाका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता समेत जाहेर गरे। उनले संघीय अस्पतालबाट प्रादेशिक अस्पतालमा बिरामी रेफर गर्नुपर्ने बाध्यताको घटाउँदै लैजाने बताए। उनले बुधबार मात्रै महिला तथा प्रसूति रोग विषेशज्ञ डा स्मृति शाहलाई अस्पतालमा खादा लगाउँदै स्वागत गरे।

१९ जना विषय विषेशज्ञको दरबन्दी रहेको अस्तालमा हाल पाँचजना मात्रै विषेशत्र चिकित्सक कार्यरत रहेका छन्। उनी सबै छात्रवृत्तिमा अध्ययन गरी सेवा खटिएको अस्पताल प्रशासनले जनाएको छ । १८ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हाल १६ जना करारमा कार्यरत रहेको र ४ जना अध्ययन बिदामा छन्।

डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने प्रक्रिया निकै अघि बढेको उल्लेख गर्दै उनले तेस्रो कार्यकालमा अस्पताललाई मेडिकल कलेज बनाउने प्रक्रियालाई पूर्णता दिने विश्वास दिलाए। उत्कृष्ट काम गर्न चिकित्सक, स्वास्थ्यकर्मीहरूलाई पुरस्कृत गरी सम्मान गर्ने उनले बताए। अध्यक्ष सिंहले आफ्नो लक्ष्य र कार्ययोजना पनि सार्वजनिक गरेका छन्।

१५ बुँदे लक्ष्य र कार्ययोजनामा विशेषज्ञ स्वास्थ्य सेवाका लागि रिक्त दरबन्दी पूरा गर्न सक्रिय भएर लाग्ने उल्लेख छ। लक्ष्मण सिंहसँगै अस्पताल विकास समितिको सदस्यमा तेजबहादुर साउँदले पनि पदभार ग्रहण गरेका छन्। दुईजना सदस्यको पद भने हाल रिक्त रहेको छ। डडेल्धुरा अस्पताल संघीय सरकारको मातहतमा रहेको सुदूरपश्चिमको एक मात्र अस्पताल हो।

१५ बुँदे लक्ष्य र कार्ययोजना    

सम्बन्धित पाेष्टहरु
Loading...