डडेल्धुरामा योग महोत्सव हुने
डडेल्धुराः डडेल्धुरामा पतन्जली योग समितिको योग महोत्सव हुने भएको छ।
‘योग गरौँ निरोगी बनौँ’ भन्ने मूल ध्येयका साथ पतंजली योग समिति डडेल्धुराको आयोजनामा यहीँ जेठ ९ गतेदेखि १३ गतेसम्म जिल्ला सदरमुकामको अमरगढी नगरपालिका–४ टुँडिखेलमा योग महोत्सव हुने भएको हो।
पतन्जली योग समिति डडेल्धुराको बैठकले योग महोत्सव सम्पन्न गर्न जिल्लास्थित सरकारी कार्यालय, स्थानीय पालिकालगायत विभिन्न निकाय तथा संस्थाहरूलाई उपस्थिति र सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ।
महिला पतन्जली योग समितिका नेपाल प्रभारी साध्वी देवआदितिको सामिप्यतामा पाँच दिवसिय निःशुल्क योग महोत्सव हुन लागेको पतञ्जली योग समिति सुदूरपश्चिमका सहप्रभारी गोविन्द खडायतले जानकारी दिए।
योग महोत्सवमा योग साधना, शारीरिक अभ्यास, प्राणायाम लगायत सत्संग तथा आयर्वेदिक औषधीय उपचार तथा योग स्वास्थ्य परामर्शका विषयमा साधकहरुलाई जनचेतनामूलक जानकारी तथा प्रशिक्षण गराइने उनको भनाइ छ।