Radio Unity 92.2MHz

‘उज्यालो भागेश्वोर’का गाउँ अन्धाकारमय : ट्रान्सफर्मरमा खिया, पोल ढले

  • केशव भण्डारी

डडेल्धुरा : ‘उज्यालो भागेश्वर’ अभियानलाई लिएर अगाडि बढेको भागेश्वर गाउँपालिकाका नागरिक अझै अन्धाकारमा बस्न बाध्य छन्।

गाउँपालिकाको वडा नम्बर ४ बन्चुल्ल, खेतगाउँ, र ५ को चुल्लका नागरिक विद्युत सेवा विस्तार नहुँदा अन्धाकारमा बस्न बाध्य भएका हुन्।

विद्युत् विस्तार गर्न दुई वर्ष अगाडी पोल गाडेको भए पनि कामले सार्थकता पाउन नसकेको हो। विद्युत् नहुँदा स्थानीयले सास्ति भोग्नु परेको स्थानीय केशब बोहराले बताए। केही व्यक्तिको घरमा सोलार भएपनि घाम नलागेको दिन सोलारले काम नगर्ने उनको भनाइ छ।

‘सोलारले काम नगरेपछि मोबाईल चार्ज गर्न डेढ घण्टा हिडेर बगरकोट बजार पुग्नु पर्छ,’ उनले भने, ‘पटक–पटक स्थानीय सरकारलाई गुहारे पनी कहिले नयाँ वर्ष त कहिले दशैं तिहारमा भनेर झुठो बोल्छन्।’

लामो समयसम्म कामले गति नपाउँदा थन्काएर राखेको ट्रान्सफर्मरमा समेत खिया लागिसकेको स्थानीय डम्बर बिष्ट बताउँछन्। उनी भन्छन्, ‘गाडीएको पोलहरू पनि ढल्ने अवस्थामा पुगि सके। हामीहरू अहिलेसम्म टुक्की, झोरो बालेर बस्नु पर्ने बाध्यतामा छौं।’

विद्युत् नभएका कारण विद्यार्थीको पढाईमा बाधा पुगिरहेको उनको भनाइ छ। उनी ‘उज्यालो भागेश्वोर’ को अभियान लिएका जनप्रतिनिधिको कामले सार्थकता नपाएको बताउँछन्।

गाउँपालिका अध्यक्ष हेमराज चटौत टेन्डर प्रक्रिया अगाडी बढीसकेकोले चाँडै विजुली पुग्ने जिकीर गर्र्छन्।

उनी भन्छन्, ‘अब दशै तिहार भित्रै विजुली बाल्ने गरि काम अगाडी बढाउँछौ।’

सम्बन्धित पाेष्टहरु
Loading...