Radio Unity 92.2MHz

दुर्गा मावि आलितालमा पुनः सञ्चालनमा आयो ‘विद्यालय नर्स’ कार्यक्रम

डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिका–८ मा रहेको दुर्गा माविमा ‘विद्यालय नर्स’ कार्यक्रम पुनः संचालनमा आएको छ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत् स्वास्थ्य कार्यालय डडेल्धुराले संचालन गरेको विद्यालय नर्स कार्यक्रम दुर्गा माविमा पुनः संचालनमा आएको हो।

सो विद्यालयमा स्वास्थ्य कार्यालय डडेल्धुराले विद्यालय नर्सका रूप बसन्ती अवस्थीलाई खटाएको छ। उनले नियमित रूपमा विद्यार्थीको स्वास्थ्य चेकजाँच, महिनावारी स्वच्छता, वातावरण सरसफाइ, किशोरीहरूलाई आइरन फोलिक एसिड, किशोर–किशोरीलाई स्वास्थ्य शिक्षा, पोषण शिक्षा, स्यानिटेरी प्याड विवरणलगायतका कार्यहरू गर्दै आएको विद्यालयका शिक्षक इन्द्रबहादुर साउदले जानकारी दिए।

उनका अनुसार ‘एक विद्यालय एक नर्स’ कार्यक्रम संचालन भएसँगै विद्यालयका सम्पूर्ण गतिविधिमा परिवर्तन आउनुको साथै समग्र विद्यालयको प्रगति भएको छ। उक्त विद्यालयमा हाल ७ सय जना विद्यार्थी अध्ययनरत रहेका छन्।

विद्यालयमा नियुक्तिपछि आफूले विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै विद्यार्थीलाई स्वस्थ्य जीवनशैली तथा सरसफाइलगायत स्वच्छ वातावरण निर्माणका लागि उत्प्रेरित गर्ने गरेको विद्यालय नर्स अवस्थीले बताइन्।

‘एक विद्यालय, एक नर्स’ कार्यक्रमबाट विद्यार्थीमार्फत् समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतनाको काम गराउने र बालिका, किशोरीमा देखिने विभिन्न समस्याको निगरानी गर्ने, उपचारमा सहयोग गर्ने तथा स्वास्थ्य शिक्षा प्रदान गर्ने सामाजिक विकास मन्त्रालयको लक्ष्य रहेको छ। डडेल्धुराका १३ विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम लागू भएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...