डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा नबिल बैंकले आफ्नो शाखा विस्तार गरेको छ। बागबजरस्थित बसपार्क छेउमा बैंकको अमरगढी शाखा विस्तार गरी सेवा सुरु गरेको हो।
बिहीबार एक औपचारिक कार्यक्रमकाबीच डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले शाखाको उद्घाटन गरेको शाखा प्रबन्धक गंगाकुमारी ऐरले बताइन्। नबिल बैंक नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको ईजाजत प्राप्त बैंक हो।
नबिल बैंकले स्थापनाको ३८ वर्ष पार गरेको उपलक्ष्यमा देशभर एकसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यसअघि बैंकले केन्द्रीय स्तरमा डिजिटल उद्घाटन गरेको थियो । नबिल बैंकका अब सुदूरपश्चिम प्रदेशमा दुई वटा शाखा भएका छन्।
डडेल्धुराको अमरगढी र कैलालीको बोराडाँडीमा शाखा गरी दुईवटा पुगेको प्रबन्धक ऐरले बताइन्। यस बैंकका सबैभन्दा बढी शाखा बागमती प्रदेशमा रहेका छन् । बागमती प्रदेशमा १३ वटा शाखा रहेका छन्। यसैगरी कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक वटा शाखा रहेको छ।
नबिल बैंकले ग्राहकहरूलाई पूर्णरूपमा अत्याधुकि बैंकिङ सेवाहरु प्रदान गर्ने अपेक्षा राखेको छ। मुलुककै अग्रणी बैंकमध्येको एक नबिल बैंकले समाज र विभिन्न वर्गका बैंकिङ आवश्यकताहरु पूरा गर्नका लागि देशका विभिन्न क्षेत्रहरुमा आफ्नो शाखाहरू निरन्तर विस्तार गरेको बैंकले जनाएको छ।