Radio Unity 92.2MHz

डडेल्धुराका स्थानीय तहमा छैनन् दरबन्दीअनुसार स्वास्थ्यकर्मी

करारका स्वास्थ्यकर्मीले दिँदै सेवा

  • प्रकाश पार्की

डडेल्धुराः डडेल्धुराका स्थानीय तहमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नभएको तथ्याङ्क सार्वजनिक भएको छ। शुक्रबार स्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारसँगको स्वास्थ्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी अपुग रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो।

जिल्लाका सात वटा स्थानीय तहमा स्वास्थ्य सेवामा मात्रै स्वीकृत दरबन्दी संख्या १ सय ५६ जना रहेको छ। जसमा १ सय ३० जना कार्यरत रहेका स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउदले जानकारी दिए। जिल्लामा स्वीकृत दरबन्दीमध्ये २६ जनाको पदपूर्ति हुन सकेको छैन।

दरबन्दी अनुसार स्वास्थ्यकर्मी अपुग भएपछि यहाँका स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा करारबाट कर्मचारी भर्ना गरेका छन्। उनका अनुसार जिल्ला सदरमुकाममा अमरगढी नगरपालिकामा २३ जनाको दरबन्दी रहेकोमा हाल २२ जना स्थायी र १२ जना स्थानीय करार गरी ३४ जना स्वास्थ्य सेवामा कार्यरत रहेका छन्। जिल्लाको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिकामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन्।

परशुराममा स्वीकृत दरबन्दी संख्या ३३ रहेको भएपनि हाल २० जना स्थायी स्वास्थ्यकर्मी कार्यरत रहेको तथ्याङ्क छ । सो नगरपालिकामा करार दरबन्दीका ९, स्थानीय करारका ३६ र अन्य करारका ५ गरी स्वास्थ्य सेवामा कूल ७० जना कार्यरत रहेका छन्।

यस्तै, आलिताल गाउँपालिकामा स्वीकृत दरबन्दी संख्या १२ जना छ । जसमा १० जना स्थायी रूपमा कार्यरत रहेका छन्। आलितालमा करार दरबन्दीका २, स्थानीय करारका १४ र अन्य करारका २ गरी स्वास्थ्य क्षेत्रमा २८ जना कार्यरत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य सेवाअन्तर्गत अजयमेरु गाउँपालिकामा स्वीकृत दरबन्दीअनुसार कर्मचारी छन्। सो गाउँपालिकामा २८ जना स्थायी, १९ स्थानीय करार र ३ अन्य करार गरी ५० जना कार्यरत रहेको तथ्याङ्कमा उल्लेख छ।

यसैगरी भागेश्वर गाउँपालिकामा स्वीकृत दरबन्दी संख्या १७ जना रहेकोमा १३ जना स्थायी रूपमा कार्यरत रहेका छन् । भागेश्वरले पनि करारमा कर्मचारी भर्ना गरेको छ। उसले करार दरबन्दीबाट ४ र स्थानीय करारबाट १६ जना भर्ना गरेको छ । भागेश्वरको स्वास्थ्य सेवामा ३३ जना कार्यरत रहेका छन्।

नवदुर्गा गाउँपालिकामा पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन्। २२ जना स्वीकृत दरबन्दी संख्या रहेको नवदुर्गामा १५ जना मात्रै स्थायी स्वास्थ्यकर्मी छन्। उसले पनि करार दरबन्दीबाट १ र स्थानीय करारबाट २१ जना भर्ना गरेको छ। नवदुर्गामा कूल ३७ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन्।

यस्तै, स्वास्थ्य सेवाअन्तर्गत गन्यापधुरा गाउँपालिकामा स्वीकृत दरबन्दीमध्ये पदपूर्ति संख्या २२ रहेको छ। उक्त गाउँपालिकामा २१ स्थायी, २५ स्थानीय करार र १ अन्य करार गरी कूल ४७ जना कार्यरत रहेका छन्।

जिल्लाका सातै स्थानीय तहमा स्थायी र करार गरी कूल २ सय ९९ जना स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउदले जानकारी दिए। दरबन्दी अनुसार कर्मचारी नहुँदा यहाँका स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा करारका स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन्।

जिल्लामा २ सरकारी अस्पताल, २४ स्वास्थ्य चौकी, २६ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २० सामुदयिक स्वास्थ्य सेवा इकाई, १०६ खोप केन्द्र, ८७ गाउँघर क्लिनिक र ३६ वटा बर्थिक सेन्टर रहेका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...