Radio Unity 92.2MHz

शहीद भीमदत्तको स्मृतिमा ‘ई–लाइब्रेरी’

  • आशिष पन्त

डडेल्धुराः ‘किसान शहीद’ भीमदत्त पन्तको जन्मथलोमा ई–लाइब्रेरीको उद्घाटन गरिएको छ।

शनिबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका नेता एवम् सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले पन्तको जन्मथलो अमरगढी नगरपालिका–२ कारीगाउँमा ई–लाइब्रेरीको उद्घाटन गरेका हुन्।

शहीद भीमदत्तको स्मृतिमा उनको जन्मथलोमा ई–लाइब्रेरीको उद्घाटन गरिएको अमरगढी नगरपालिका–२ का वडाअध्यक्ष हेमराज पन्तले जानकारी दिए।

उनले सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त पुस्तकालयका लागि रकम छुट्टयाइएको बताए।

२० लाख रूपैयाँ लागतमा पुस्तकालय भवन र १५ लाख रुपैयाँमा ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ।

‘पुस्तकालयमा कम्प्युटर, किताब र सीसी टीभी क्यामरा जडान गरिएको छ।

को थिए भीमदत्त पन्त ?
नेपाली किसान आन्दोलनका शहीद भीमदत्त पन्त डडेल्धुराको अमरगढी–२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मिएका हुन्।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक चेतना बढायो। सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए, भीमदत्त पन्त।

पन्तले ‘ठालु खान्ना आलु गरिब खान्ना बास्मती’ भन्ने नाराका साथ ‘तमसुक च्यात, भकारी फोड’ अभियान चलाएका थिए। भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम पनि हो।

‘जसको जोत, उसको पोत, किसान जिन्दावाद–जनताको राज जिन्दावाद’, ‘कि त जोत हलो, कि त छोड थलो– यदि हैन भने अब छैन भलो’ भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए।

किसान योद्धाका रूपमा चिनिने पन्तको वि.सं. २०१० साउन १७ गते टाउको काटी हत्या गरिएको थियो । वि.सं. २०७२ फागुन १९ गते मात्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले औपचारिक रूपमा भीमदत्त पन्तलाई शहीद घोषणा गरेको थियो।

सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।