Radio Unity 92.2MHz

घटाल– चिम्रिकोट सडकमा पटकपटक गुणस्तरहीन कार्य

निर्माण सम्पन्न नहुँदै उप्कियो कालोपत्रे

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका–२ अन्र्तगत पर्ने घटाल– चिम्रिकोट सडकमा निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको छ। यो सडकखण्ड सुदुरपश्चिमको प्रसिद्ध धार्मीक शक्तिपीठ घटाल थानलाई जोड्ने गर्दछ।

गुणस्तरमा लापरबाही गरिएकोले काम सम्पन्न नहुँदै कालोपत्रे उप्किएको स्थानीयको आरोप छ। डडेल्धुराको अमरगढी नगरपालिका–२ अन्र्तगत घटाल–चिम्रिकोट सडकखण्डको १३ सय ४५ मिटर कालोपत्रेको काम धुलिखेल एलवी एण्ड एवी शिवलिङ्ग जेभीले गर्दै आएको छ।

नगरपालिकाले निकालेको बोलपत्र अनुसार ४ करोड ६५ लाख २४ लाख दुई सय १८ रूपैयाँमा निर्माण कम्पनीले २०७८ माघ २५ गते उक्त योजनाका लागि सम्झौता गरेको थियो।

तर, करिव  दुई सय मिटर कालोपत्रे गर्न बाँकी छँदै उप्किन थालेको छ भने सडक छेउमा लगाइएका वाल भत्किन लागेका छन्।

मानिस हिँड्दा र मोटसाइकल मात्रै सञ्चालनमा रहँदा पनि कालोपत्रे उप्किन थालेको स्थानीय चेतन खडायतको भनाइ छ। उनले कालोपत्रे गर्ने क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरिएको भन्दै सम्बन्धीत निकायले ध्यान दिनु पर्ने बताए।

सडक निर्माणका क्रममा नगरपालिकाको टोलीले नियमित अनुगमन गर्दै आएको थियो। तर, पनि कालोपत्रे उप्किन थालेपछि निर्माण व्यवसायी र नगरपालिकाका प्राविधिकबीच कमिसनको चक्करमा कमसल खालको अलकत्रा प्रयोग गरिएको स्थानीयको आरोप छ।

अमरगढी नगरपालिका–२ कै स्थानीय भोज कडाराले निर्माण सम्पन्न नहुँदै कालोपत्रे उप्किन थालेको र वाल भत्किन थालेको भन्दै कालोपत्रे धेरै नटिक्ने दाबी गरे।

स्थानीय शिवराज पन्तले भने, ‘सुरुमा राम्रै बनाएको थियो। राम्रो बन्छ भन्ने सोचेका थियौं। तर, यो त उप्किन थालेको छ। ६ महिना टिक्न पनि मुस्किल छ।

अमरगढी नगरपालिका–२ का वडाअध्यक्ष हेमराज पन्त साँझ बिहान यहीँ सडकखण्ड भएर हिँड्डुल गर्ने भएपनि गुणस्तरहिन कार्य हुँदा पनि ध्यान नदिएको स्थानीय बताउँछन्।

अनुगमन गर्ने कुरा पटकपटक गरि राखेको र आफूलाई प्राविधिक कुरा थाहा नहुने वडाअध्यक्ष पन्तले बताए।

उनले भने, ‘कति एमएम गिट्टी कति एमएम अलकत्रा हाल्नु पर्छ भन्ने हामीलाई थाहा हुँदैन्। त्यो प्राविधिकको कुरा हो। हामीले काम छिटोभन्दा छिटो गरौं भनेर पहल गर्ने कुरा हो।’

अमरगढी नगरपालिकाले नगरकै सबैभन्दा स्तरीय कालोपत्रे बनेको दाबी गरेको छ। घटाल चिम्रिकोट सडक निर्माणाधिन अवस्थामा रहेको नगरपालिकाका इन्जिनियर सुरेशबहादुर साउँदले जानकारी दिए।

‘निर्माणाधिन अवस्थामा रहेको छ। कुनैकुनै ठाउँमा पानी जमेर, कुनै मेट्रीयलमा खराबी आएर केही ठाउँमा त्यस्तो भएको हो,’ उनले भने, ‘निर्माणाधिन अवस्थामा रहेकोले पछाडि भएका कमी कमजोरीलाई सुधार गर्दे अगाडी बढ्ने छौं।’

गुणस्तरहीन कार्य योभन्दा अगाडी पनि भएको थियो
यहीँ सडक खण्डको ३५० मिटर कालोपत्रे गर्न २०७७ असार ३० गते नगरपालिकाले राम कन्ट्रक्सनसँग ५४ लाख ९७ हजारमा ठेक्का सम्झौता गरेको थियो।

सो सडक पनि गुणस्तरहीन भएको भन्दै महालेखा परिक्षणको प्रतिवेदनले निर्माण कम्पनीलाई पुनः कार्य गराउन निर्दैशन दिन नगरलाई भनेको थियो।

नगरपालिकाले ठेकेदारको ८ लाख रूपैयाँ भुक्तानी दिएको छैन्। र, सोही भुक्तानी रोकेर नगरपालिका चोखिन खोजिरहेको छ।

एउटै सडक खण्डामा हरेक वर्ष गुणस्तरहीन कार्य हुनुले जनप्रतिनिधि र नगरपालिकाका प्राविधिकको नियतमाथि प्रश्न खडा गर्ने प्रशस्त ठाउँ देखिने स्थानीय बताउँछन्।

सम्बन्धित पाेष्टहरु
Loading...